कांग्रेसले क्षेत्रमा गरेको विकास नै मेरो जितको आधार हो : रमेश अर्याल

काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालले चुनावी अभियानलाई तीव्र बनाएका छन् । शनिबार जोरपाटीमा आयोजित क्षेत्रीय भेलालाई सम्बोधन गर्दै अर्यालले सुशासन, पारदर्शिता र विकासलाई आफ्नो प्राथमिक एजेन्डा बनाउने बताएका हुन् ।
‘काठमाडौं ३ मा जितेका कांग्रेसका प्रतिनिधिहरू, पूर्व संघीय सांसद सन्तोष चालिसे, बागमती प्रदेश सांसदहरू विमल ठकुरी, छिरिङ दोर्जे लामा र गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसालले यस क्षेत्रमा गरेको विकास र सुशासनको आधार नै मेरो जितको आधार हो’ उनले भने ।
कार्यक्रममा बोल्दै उनले काठमाडौं ३ लाई व्यवस्थित सहरी पूर्वाधार, सुरक्षित खानेपानी, प्रभावकारी फोहोर व्यवस्थापन र यातायात सुधारका माध्यमबाट नमुना क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाए । ‘राजनीति भाषणका लागि होइन, परिणामका लागि हुनुपर्छ,’ उनले भने, ‘जनताले भोगिरहेको समस्या समाधान गर्नु नै मेरो पहिलो कर्तव्य हो ।’
अर्यालले युवाका लागि रोजगारी सिर्जना, स्थानीय उद्यम प्रवर्द्धन र शिक्षाको गुणस्तर सुधारमा विशेष जोड दिने बताएका छन् । उनले प्रतिनिधि सभामा निर्वाचित भएपछि संघीय सरकारसँग समन्वय गर्दै काठमाडौं-३ का दीर्घकालीन पूर्वाधार आयोजना अघि बढाउने दाबी गरे ।
भेलामा उनले विगतमा देखिएको ढिलासुस्ती, कमजोर समन्वय र अपारदर्शी कार्यशैलीका कारण विकासले अपेक्षित गति लिन नसकेको उल्लेख गर्दै अब परिणाममुखी नेतृत्व आवश्यक रहेको बताए । ‘अब आश्वासन होइन, कार्यान्वयन चाहिन्छ,” उनले भने, “जनताको विश्वासलाई काममार्फत प्रमाणित गर्ने समय आएको छ ।’
स्थानीय नेता-कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको उक्त कार्यक्रममा अर्यालले निर्वाचनमा आफ्नो पक्षमा जनमत दिन अपिल गर्दै समृद्ध र व्यवस्थित काठमाडौं-३ निर्माणका लागि साथ दिन आग्रह गरेका छन् ।










