प्रतिनिधिसभा निर्वाचनः मनाङमा पर्यटन, पूर्वाधार विकास मुख्य एजेन्डा

मनाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मतदान गर्न २० दिन बाँकी छ । निर्वाचन नजिकिँदै गर्दा चुनावी प्रचारप्रसारलाई उम्मेदवारले तीव्र पार्न थालेका छन् । उम्मेदवार आ–आफ्ना एजेन्डासहित मतदातासामु आफ्नो पक्षमा मत पार्ने कसरतमा देखिन्छन् ।
निर्वाचनमा यहाँ तीन दलबीच प्रतिस्पर्धा हुनेछ । नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र मङ्गोल नेशनल अर्गनाइजेसनको प्रतिस्पर्धा हुनेछ । यी प्रतिस्पर्धी दलले मुख्य एजेन्डा मनाङको पर्यटन क्षेत्र, पूर्वाधार विकास र जलवायु परिवर्तनका असर न्यूनीकरणलाई अघि सारेका छन् ।
मनाङको मुख्य आयस्रोत पर्यटन क्षेत्र भएकाले पूर्वाधार विकासबिना असम्भव रहेकाले सहज पहुँचको विकासलाई प्राथमिकता दिएको कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङले बताए । उनले भने “मनाङ सबैभन्दा विकट क्षेत्र हो । यहाँको पूर्वाधार विकासका लागि स्थलमार्गको पहुँच महत्त्वपूर्ण मानिए पनि हालसम्म सहज बनाउन सकिएको छैन । त्यसैले पूर्वाधार विकासलाई प्राथमिकता दिइएको हो ।”
मुख्य आयस्रोतका रूपमा रहेको पर्यटन व्यवसायको प्रवद्र्धन र पर्यटक आउने पहुँचमार्ग सहज बनाउनु आवश्यक रहेकामा उनले जोड दिए । “देशैभरमा सबैभन्दा पछि सडक पहुँच पुग्ने जिल्लामा मनाङ पर्छ । हालसम्म पनि नार्पाभूमिमा स्थलमार्गको पहुँच विस्तार भएको छैन”, उनले भने “यस क्षेत्रलाई सडक सञ्जालले जोड्न सकिएमा अझ पर्यटक बढ्छन् । यसले मनाङको आयस्रोत बढ्ने र स्थानीयको जीवनस्तर सुधार हुनेछ ।”
यहाँको साहसिक, ऐतिहासिक, धार्मिक क्षेत्रलाई पर्यटनसँग जोडेर आयस्तर बढाउने लक्ष्य लिइएको गुरुङले बताए । देशकै आयस्तर वृद्धि गर्नमा महत्त्वपूर्ण रहेको मनाङमा जलविद्युत् आयोजनाको हब बनाउने योजना रहेको उनले उल्लेख गरे ।
“यहाँका तालतलैयामध्ये तिलिचोताललाई धार्मिक पर्यटनसँग जोड्नुपर्ने आवश्यकता छ । विश्वको पर्यटकलाई ताने पनि अझै धार्मिक पर्यटनका रूपमा प्रवद्र्धन गर्ने योजना बनाएको छु”, गुरुङले भन्नुभयो । हिमाली क्षेत्रमा बढी जलवायु परिवर्तनको असर पर्ने भएकाले समाधान गर्नतर्फ एजेन्डामा समावेश गरिएको उनले बताए । “यसको असर समाधानका लागि स्थानीयलाई सचेत गराउँदै संसद्बाट नीतिगत योजना बनाउन आवश्यक छ”, उनले भने “यहाँको प्राकृतिक सौन्दर्यतालाई यसको असरबाट जोगाउने लक्ष्यका साथ एजेन्डा निर्धारण गरिएको हो ।”
नेकपाकी उम्मेदवार यशोदा सुवेदी गुरुङले पर्यटन मनाङको मुख्य आयस्तर भएकोले यसको प्रवद्र्धन गर्ने बताइन् । “प्रकृति, संस्कृति र साहसिक पर्यटनमार्फत मनाङसहित मुलुकलाई विश्वस्तरसम्म परिचित गराउनु छ”, उनले भनिन् “पर्यटन समृद्धिको मेरुदण्ड हो । यसको संरक्षण र वैकल्पिक पदमार्ग निर्माण गर्ने लक्ष्य छ ।”
सडक विस्तारका कारण विश्वको जोखिमयुक्त अन्नपूर्ण पदमार्ग प्रभावित भएकाले वैकल्पिक पदमार्ग निर्माणलाई प्राथमिकतामा राखिएको सुवेदी गुरुङले बताए । “यहाँको तिलिचोताल, आइसलेकलगायत तालतलैयाको प्रवद्र्धन, थोराङ्ला पास, लार्केपास, काङ्ला पासलाई प्रमुख पर्यटनको क्षेत्रका रूपमा प्रवद्र्धन गर्ने लक्ष्य छ”, उनले भने “यसले मनाङ समृद्ध बन्छ ।”
निर्वाचनमा पुराना दलबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतिनिधिसभा निर्वाचन २०७९ मा कुल मत छ हजार ७७९ मा चार हजार ८२७ मत खसेको थियो । कांग्रेसका टेकबहादुरले दुई हजार ५७५ मत ल्याएका थिए । एमालेका पोल्देन छोपाङ गुरुङले दुई हजार २४७ मत ल्याएका थिए । समानुपातिकतर्फ कांग्रेसले दुई हजार ४३०, एमालेले दुई हजार १९१, राष्ट्रिय स्वतन्त्र पार्टीले १४६, नेकपा माओवादीले १३३, जसपाले आठ र जनमोर्चाले दुई मत प्राप्त गरेको थियो ।
मनाङमा यस निर्वाचनमा तीन हजार ६२३ महिला र तीन हजार ३७७ पुरुष मतदाताले २९ मतदान केन्द्रमार्फत मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
गत निर्वाचनमा भएको प्रतिस्पर्धाभन्दा यसपटकको निर्वाचन भिन्न देखिएको छ । नेकपा एमाले र राप्रपाले कांग्रेसलाई समर्थन गरेको छ । कांग्रेस, नेकपा र मङ्गोल नेसनल अर्गनाइजेसनबीच प्रतिस्पर्धा हुनेछ ।








