कृषि क्रान्तिबाटै अर्थतन्त्र सुधार सम्भव: चुन्नप्रसाद पौडेल

काठमाडौं । नेपाली काँग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार चुन्नप्रसाद पौडेलले देशको अर्थतन्त्र सुधारका लागि कृषि क्रान्ति अपरिहार्य रहेको बताएका छन् । नेपाल किसान महासंघले शुक्रबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कृषि क्षेत्रमा व्यापक सुधार गर्न सके पुँजी पलायन रोक्न सकिने दाबी गरे ।

उम्मेदवार पौडेलले निजी क्षेत्रबाट सुरु गरिएको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै कृषि क्रान्तिका लागि सरकारले नीतिगत सुधार, लगानी आकर्षण र लगानीको सुरक्षाको सुनिश्चितता गर्नुपर्ने बताए । ‘कृषि क्रान्तिबिना अर्थतन्त्रको दिगो सुधार सम्भव छैन,’ उनले भने ।

यशोदा फूडका सञ्चालक समेत रहेका पौडेलले आफ्नो उद्योगबाट उत्पादन हुने ‘करेन्ट चाउचाउ’ले नेपाली किसानले उत्पादन गरेको वार्षिक एक अर्ब रुपैयाँभन्दा बढीको अकबरे खुर्सानी खपत गरिरहेको जानकारी दिए । उनका अनुसार अकबरे खुर्सानी प्रयोग गरिएको उक्त उत्पादन २५ भन्दा बढी देशमा निर्यात हुँदै आएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन र निर्यातमार्फत एकातर्फ पुँजी पलायन रोकिएको तथा अर्कोतर्फ विदेशी मुद्रा आर्जन भइरहेको उनले उल्लेख गरे ।

किसानलाई प्रोत्साहन गर्न समूहमा लगानी गरिएको र उत्पादित खुर्सानी पूर्वनिर्धारित मूल्यमा खरिद गर्ने व्यवस्था मिलाइएको उनले बताए । नेपालमा यस्ता उद्योगहरू थप विस्तार हुनुपर्नेमा उनले जोड दिए ।

उनले स्वदेशी कच्चापदार्थमा आधारित उद्योग स्थापना र उत्पादित वस्तुको निर्यातमुखी नीति अवलम्बन गर्नुपर्ने धारणा राखे । कृषि क्षेत्रलाई आधुनिक, प्रविधियुक्त र वैज्ञानिक बनाउन आवश्यक रहेको उल्लेख गर्दै उनले रुपन्देही क्षेत्रको आर्थिक, सामाजिक, भौतिक तथा औद्योगिक विकासलाई प्राथमिकतामा राखेको बताए ।

आफ्ना संकल्प पूरा गर्न नेपाली काँग्रेस नेतृत्वको सरकार आवश्यक रहेको भन्दै उनले आगामी निर्वाचनमा आफूलाई मतदान गरी विजयी गराउन आग्रह गरे ।

बुटवललाई ‘स्वास्थ्य हब’ बनाउने योजना

उम्मेदवार पौडेलले बुटवललाई ‘स्वास्थ्य हब’का रूपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । स्वास्थ्य क्षेत्रका अस्पताल सञ्चालक, औषधि व्यवसायी तथा फार्मासिस्टसँगको अन्तरक्रियामा उनले लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने योजना सुनाए ।

त्यसैगरी सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)लाई मेडिकल कलेजका रूपमा स्तरोन्नति गर्ने तथा निजी क्षेत्रबाट सञ्चालित अस्पताल र स्वास्थ्य संस्थालाई थप गुणस्तरीय र सुविधा सम्पन्न बनाउन पहल गर्ने उनले बताए ।

पूर्व–पश्चिम तथा उत्तर–दक्षिण क्षेत्रबाट उपचारका लागि बुटवल आउने सेवाग्राहीको चापलाई मध्यनजर गर्दै गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवा उपलब्ध गराई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्ने उनको भनाइ थियो ।

मर्सीसिटि अस्पतालका अध्यक्ष जनक कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तिनाउ अस्पतालका अध्यक्ष चिरञ्जिवी जोशी, मेलानका केन्द्रीय सदस्य गणनीधि खनाल तथा नेपाल फार्मेसी संघ रुपन्देहीका अध्यक्ष गणेश सेढाईलगायतले स्वास्थ्य क्षेत्र सुधारका विषयमा सुझाव प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 9 =