पश्चिमा राष्ट्रहरूप्रतिको अविश्वासले आणविक वार्तामा अवरोध पुगेको इरानको दाबी

काठमाडौं । इरानले पश्चिमा राष्ट्रहरूद्वारा सिर्जित अविश्वासको पर्खालले अमेरिकासँगको आणविक वार्तामा बाधा पुऱ्याइरहेको बताएको छ । आफ्नो आणविक कार्यक्रमका बारेमा कूटनीतिक पहलका लागि तयार रहेको पुनः पुष्टि गर्दै इरानले आफ्नो रक्षा क्षमतामा कुनै सम्झौता नगर्ने अडान समेत व्यक्त गरेको छ ।
सन् १९७९ को इस्लामिक क्रान्तिको ४७ औं वार्षिकोत्सवको अवसरमा तेहरानमा आयोजित समारोहलाई सम्बोधन गर्दै इरानी राष्ट्रपति मसूद पेजेस्कियानले पश्चिमाहरूले खडा गरेको अविश्वासको वातावरण र अमेरिकाका अत्यधिक मागहरूले वासिङ्टनसँगको वार्ताको प्रगतिमा अवरोध पुऱ्याएको बताए । क्षेत्रीय समस्याहरू विदेशी राष्ट्रहरूले नभई क्षेत्रीय देशहरूले मात्र समाधान गर्न सक्छन् भन्ने आफूहरूको विश्वास रहेको उनले बताए ।
उनले इरान कहिल्यै पनि अत्यधिक माग र आक्रामकतासामु नझुक्ने स्पष्ट पारे । देशव्यापी उत्सवका क्रममा इरानभरका सहरहरूमा प्रदर्शनकारीहरूले राष्ट्रिय संयन्त्रप्रति आफ्नो ऐक्यबद्धता जनाउँदै अमेरिका र इजरायलका आक्रामक र आपराधिक नीतिहरूको निन्दा गरेका छन् । सन् १९७९ मा अयातोल्लाह रुहोल्लाह खोमेनीको नेतृत्वमा भएको क्रान्तिले अमेरिका समर्थित शाह मोहम्मद रेजा पहलवीलाई सत्ताच्युत गरी इरानलाई इस्लामिक गणतन्त्रमा परिणत गरेको थियो ।
इरान नजिकै अमेरिकाको सैन्य उपस्थितिका कारण बढेको तनावका बीच तेहरान र वासिङ्टनले शुक्रबार ओमानको राजधानी मस्कटमा पहिलो चरणको अप्रत्यक्ष वार्ता गरेका थिए । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता असफल भएमा इरान विरुद्ध सम्भावित सैन्य कारबाहीका लागि मध्यपूर्वमा दोस्रो विमानवाहक युद्धपोत पठाउने विचार गरिरहेको बताए ।








