नाम्खाले सरकारलाई भन्यो- मतदान प्रभावित हुने संशय छ

हुम्ला । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचन हिमाली जिल्ला हुम्लाका लागि उत्साहभन्दा बढी चिन्ताको विषय बनेको छ । अत्यधिक चिसो र बाक्लो हिमपातका कारण जनजीवन कष्टकर बनेपछि आसन्न निर्वाचनमा अपेक्षित मतदान नहुने भन्दै स्थानीय तह र जनप्रतिनिधिहरूले चिन्ता व्यक्त गरेका छन् ।
जाडो छल्नका लागि जिल्लाका अधिकांश नागरिकहरू बेँसी झरेका र गाउँ जोड्ने मुख्य पदमार्गहरू हिउँले थुनिएका कारण निर्वाचनको वातावरण प्रभावित हुने देखिएको हो । विशेष गरी उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिकामा यसको प्रत्यक्ष असर पर्ने देखिएको छ ।
निर्वाचनको मिति नजिकिँदै गर्दा नाम्खा गाउँपालिकाले सरकार र निर्वाचन आयोगलाई दुई अलग-अलग पत्र लेख्दै वस्तुस्थिति अवगत गराएको छ । गाउँपालिकाले संघीय सरकारलाई हिउँ पन्छाएर अवरुद्ध सडक सञ्जाल सञ्चालन गरिदिन र जिल्ला निर्वाचन कार्यालयलाई वर्तमान प्रतिकूल परिस्थितिका कारण फागुन २१ को मतदान केही समय पर सारिदिन अनुरोध गरेको छ ।
नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङका अनुसार लिमी क्षेत्रका तीनवटा मतदान स्थलमा ६ सय ७२ मतदाता रहे पनि हाल गाउँमा निकै कम मानिस मात्र बाँकी छन् । ‘जाडो बढेपछि अधिकांश मतदाताहरू काठमाडौं, सुर्खेत र छिमेकी राष्ट्र भारततर्फ लागेका छन्,’ तामाङले भने, ‘गाउँ फर्किनका लागि नारा र न्यालु लेकको हिउँ बाधक बनेको छ । कि सरकारले हिउँ पन्छाएर बाटो खुलाउनुपर्यो, कि त निर्वाचनको मिति हेरफेर गर्नुपर्यो ।’
भौगोलिक रूपमा विकट मानिने नाम्खा–६ का लिमी, तिल, जाङ र हल्जी गाउँका बासिन्दाहरू हाल जिल्ला बाहिर रहेकाले मतदान केन्द्रहरू सुनसान हुने जोखिम बढेको हो । न्यालु लेक क्षेत्रमा हिउँ थुप्रिएपछि सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ । यस्तै, वडा नम्बर ५ मा पर्ने नारा लेकको अवस्था पनि उस्तै छ ।
सीमा सुरक्षामा खटिएका अधिकारीहरूले पनि हिउँका कारण गस्ती र अनुगमनमा कठिनाइ भइरहेको बताएका छन् । सीमा सुरक्षा प्रहरी बल (बिओपी) हिल्साका इन्चार्ज कृष्ण दाहालका अनुसार नारा लेक क्षेत्रमा अहिले ३ देखि ४ फिटसम्म हिउँ जमेको छ ।










