ब्रिटिस मिडियामा चर्चाः हारेर पनि विश्व जितेको नेपाली टोली

काठमाडौं । मुम्बईको वानखेडे स्टेडियममा आइतबार यस्तो रोमाञ्चक ‘थ्रिलर’ मञ्चन भयो, जहाँ विश्वविजेता इंग्ल्याण्ड जितेर पनि असहज देखियो भने नेपाल हारेर पनि विश्व क्रिकेटको मन जित्न सफल भयो ।

१८५ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४ रनले मात्र पछि पर्‍यो । तर मैदानमा देखाएको जुझारुपन र आत्मविश्वास कुनै ‘सुपरस्टार’ टोलीभन्दा कम थिएन । १७ हजार दर्शकको गर्जनबीच नेपालले दिएको दबाबले अन्तिम बलसम्म इंग्ल्याण्डलाई असहज बनाइराख्यो ।

ब्याटिङतर्फ लोकेश बमले जोफ्रा आर्चर जस्ता विश्वप्रसिद्ध बलरलाई लगातार दुई छक्का प्रहार गर्दै २० बलमा ३९ रनको आक्रामक इनिङ्स खेले । अनुभवी दीपेन्द्र सिंह ऐरीले २९ बलमा ४४ रन जोड्दै टी–२० अन्तर्राष्ट्रियमा २ हजार रनको कीर्तिमान पूरा गरे। कप्तान रोहित पौडेल (३९) सँगको ८२ रनको साझेदारीले नेपाललाई जितको नजिक पुर्‍याएको थियो ।

बलिङमा पनि नेपाली टोलीको प्रभावशाली प्रदर्शन देखियो । शेर मल्लले करियरको पहिलो बलमै फिल साल्टलाई आउट गर्दै स्वर्णिम डेब्यु गरे । सन्दीप लामिछानेले ४ ओभरमा २५ रन मात्र खर्चेर किफायती बलिङ गरे भने दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान २–२ विकेट लिँदै इंग्ल्याण्डको लय बिगारे ।

नेपालको साहसिलो प्रदर्शनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको समेत ध्यान खिचेको छ । बेलायतको द टेलिग्राफले वानखेडेमा नेपाली समर्थकको उपस्थितिले ‘इंग्ल्याण्डको सातो गएको’ उल्लेख गरेको छ । द गार्डियनले हिमाल चढ्न अभ्यस्त नेपालीका लागि १८५ रन ‘हिमाली मापदण्डमा सामान्य’ भएको टिप्पणी गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले दक्षिण अफ्रिकाका पूर्व तीव्र गतिका बलर डेल स्टेन नेपालको खेलबाट प्रभावित भई प्रशिक्षण दिन इच्छुक रहेको उल्लेख गरेको छ । स्काइ स्पोर्ट्स, बीबीसी र डेली मेलले समेत इंग्ल्याण्डको जित उत्सवभन्दा बढी ‘राहत’ मात्र भएको विश्लेषण गरेका छन् ।

खेल हारिए पनि वानखेडेमा नेपालले पाएको ‘ल्याप अफ अनर’ ले एउटा स्पष्ट सन्देश दिएको छ  । नेपाल अब केवल अन्डरडग होइन, विश्व क्रिकेटको उदीयमान शक्ति हो । इंग्ल्याण्डका कप्तान ह्यारी ब्रुकले भनेजस्तै यो जित मिठो थिएन, जुन नेपालको उत्कृष्ट खेलकै परिणाम थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + twelve =