१७औँ राष्ट्रिय बाल नाटक महोत्सवको उद्घाटन, फागुन २ गतेसम्म सञ्चालन हुने

काठमाडौँ । १७औँ राष्ट्रिय बाल नाटक महोत्सवको आज काठमाडौँमा उद्घाटन गरिएको छ । शैली थिएटर, रूसी सदन काठमाडौँ र ओजस थिएटरको संयुक्त आयोजनामा सुरु भएको महोत्सव एक हप्तासम्म सञ्चालन हुने छ ।
कार्यक्रमका प्रमुख अतिथि कवि तथा नाटककार एल.बी. क्षेत्रीले नाटक विधालाई गम्भीर रूपमा लिन आवश्यक रहेको बताए । उनले नाटकको इतिहास अत्यन्तै समृद्ध र ऐतिहासिक रहेको उल्लेख गर्दै यसलाई यथार्थपरक बनाउन सबै पक्ष समेट्नुपर्नेमा जोड दिए ।
नाटक सधैं जीवन्त विधा भएको उल्लेख गर्दै क्षेत्रीले यसले समाजमा सशक्त र अनुकरणीय भूमिका निर्वाह गर्दै आएको बताए । नाटकका पात्रहरू सधैं जीवित रहने भएकाले बाल नाटकलाई शिक्षाको सशक्त माध्यमका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो । बालबालिकाले मञ्चलाई आफ्ना सपना प्रस्तुत गर्ने माध्यमका रूपमा लिनुपर्नेमा उनले जोड दिए ।
बाल नाटक महोत्सवका संयोजक महेश पौडेलले सरकारी निकायले नाटक विधालाई महत्त्व नदिएसम्म यसको विकास सम्भव नहुने बताए । उनले जीवन्त विषयवस्तुलाई वस्तुनिष्ठ ढंगले विश्लेषण नगरेसम्म नाटक विधाको दिगो विकासमा चुनौती रहने धारणा व्यक्त गरे ।
रूसी सदन काठमाडौँकी निर्देशक अनास्थासिया खोकोलोभाले यस वर्षको नाटक महोत्सव विशेष अर्थपूर्ण रहेको बताइन् । नेपाल र रसियाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको सन्दर्भले महोत्सवलाई थप महत्त्व दिएको उनको भनाइ थियो । आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रम निरन्तर आयोजना गरिने उनले बताइन् ।
उद्घाटन सत्रमा ‘हामी एउटै हौँ’ र ‘पार्वती’ शीर्षकका दुई नाटक मञ्चन गरिएका थिए । ‘हामी एउटै हौँ’ प्रतियोगी नाटक रहेको छ भने ‘पार्वती’ अप्रतियोगी नाटक हो ।
कार्यक्रममा शान्तदास मानन्धर पुरस्कार राम बाबु सुवेदीलाई प्रदान गरिएको थियो । महोत्सवमा कुल १८ वटा नाटकहरू प्रस्तुत हुनेछन् भने उत्कृष्ट नाटकहरूलाई नगदसहित ट्रफी र पुरस्कार प्रदान गरिनेछ । महोत्सव आगामी फागुन २ गतेसम्म सञ्चालन हुनेछ ।








