‘डिशहोम गो’ मा दुई चर्चित नेपाली चलचित्र ‘नाइ नभन्नु ल ६’ र ‘प्रसाद २’ रिलिज

काठमाडौं । बहुप्रतीक्षित र दर्शकमाझ लोकप्रिय बनेका दुई नेपाली चलचित्र ‘नाइ नभन्नु ल ६’ र ‘प्रसाद २’ अब ‘डिशहोम गो’ एपमार्फत हेर्न सकिने भएको छ ।
पारिवारिक भावना, प्रेम र गहिरा सामाजिक यथार्थलाई प्रस्तुत गर्ने यी दुवै चलचित्रले नेपाली दर्शकको मन जित्न सफल भएका छन् ।
‘नाइ नभन्नु ल ६’ नेपाली चलचित्रको सफल फ्रेन्चाइजको छैटौँ शृंखला हो । बिकासराज आचार्यद्वारा निर्देशित यस चलचित्रमा आँचल शर्मा, आशीर्वाद बी. क्षेत्री, सरोज खनाल र प्रियंका कार्की मुख्य भूमिकामा छन्। निर्माता बिकासराज आचार्य र विष्णु मणि दाहाल रहेका छन् ।
चलचित्रले अभिनेता शिशिर र उनकी छोरी दित्याबीचको गहिरो सम्बन्धलाई केन्द्रमा राख्दै परिवार, प्रेम र जीवनका उतार–चढावलाई भावनात्मक रूपमा प्रस्तुत गर्छ ।
दित्याकी आमासँग जोडिएको रहस्यले कथालाई थप रोचक बनाएको छ । पारिवारिक दर्शकका लागि उपयुक्त यो चलचित्रले रिलिजपछि राम्रो प्रतिक्रिया पाएको थियो ।
त्यसैगरी, ‘प्रसाद २’ नेपाली समाजका संवेदनशील सामाजिक विषयहरूलाई निरन्तरता दिने सशक्त चलचित्र हो। सुदर्शन थापा निर्देशित र सुदर्शन बस्नेत निर्मित यस चलचित्रमा बिपिन कार्की, केकी अधिकारी, अर्पण थापा र महेश त्रिपाठी प्रमुख भूमिकामा छन् ।
‘प्रसाद’ को कथालाई अगाडि बढाउँदै ‘प्रसाद २’ ले जातीय विभेद, अन्तरजातीय विवाहका चुनौती र राजनीतिक द्वन्द्वजस्ता विषयलाई अझ गहिराइमा प्रस्तुत गरेको छ ।
समाज परिवर्तनको संघर्ष र मानवीय संवेदनालाई प्रभावशाली रूपमा उठान गरेको यो चलचित्र समीक्षक र दर्शक दुवैबाट प्रशंसित बनेको थियो ।
यी दुवै चलचित्र ‘डिशहोम गो’ मार्फत नेपालभर तथा विदेशमा रहेका नेपाली दर्शकहरूले सजिलै हेर्न सक्नेछन् । ‘डिशहोम गो’ एक आधुनिक OTT प्लेटफर्म हो, जहाँ नेपाली तथा विदेशी चलचित्र, वेब सिरिज, टिभी कार्यक्रम, लाइभ खेलकुद, सर्ट फिल्म र कोरियन ड्रामा लगायत विविध मनोरञ्जन सामग्री उपलब्ध छन् । एकै एपमार्फत गुणस्तरीय मनोरञ्जनको अनुभव लिन चाहने दर्शकका लागि ‘डिशहोम गो’ उत्कृष्ट गन्तव्य बनेको छ ।








