कर्णालीका पूर्वमुख्यमन्त्री शर्मालाई कारबाही गर्ने नेकपाको तयारी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेशसभा सदस्य राजकुमार शर्मामाथि कारबाहीको प्रक्रिया अघि बढाएको छ ।
जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीमा संलग्न भएको आरोप लगाउँदै नेकपाले उनलाई प्रदेशसभा सदस्य पदबाट हटाउने तयारी गरेको हो ।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले शर्मालाई लिखित स्पष्टीकरण सोधेका छन् । माघ २२ गते २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्र पठाइए पनि शर्माले हालसम्म कुनै जवाफ नदिएको पार्टी स्रोतले जनाएको छ ।
पार्टी अनुशासन विपरीत गतिविधिमा संलग्न भएको आरोप लगाउँदै उनलाई पार्टी सदस्य तथा संसदीय दलको सदस्यबाट किन नहटाउने भनी स्पष्टीकरण मागिएको जनाइएको छ ।
शर्मा तत्कालीन नेकपा माओवादी केन्द्रबाट रुकुम पश्चिम निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।








