भौतिक र डिजिटल कनेक्टिभिटी नेपालको विकासको प्राथमिकताः रघुवीर महासेठ

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव रघुवीर महासेठले नेपालको समुन्नति र विकासका लागि भौतिक तथा डिजिटल कनेक्टिभिटी, कृषिको आधुनिकीकरण र औद्योगिक विस्तार अपरिहार्य रहेको बताएका छन् ।

‘चिनियाँ कम्युनिष्ट पार्टीको १०५ वर्षः ऐतिहासिक अनुभव र नेपालको विकास’ सम्बन्धी विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपालको विकासका प्राथमिकताहरू स्पष्ट रहेको उल्लेख गर्दै नेता महासेठले गुणस्तरीय शिक्षा, स्वास्थ्य र नवीन खोजमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

वातावरण संरक्षण, लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण, सामाजिक न्याय र नेपालको मौलिक सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु राज्यको उत्तिकै महत्वपूर्ण जिम्मेवारी रहेको उनले बताए । नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धका बारेमा चर्चा गर्दै उपमहासचिव महासेठले दुई देशबीचको मित्रता आपसी सम्मान, सार्वभौम समानता र शान्तिपूर्ण सहअस्तित्वमा आधारित रहेको उल्लेख गरे । पञ्चशीलको सिद्धान्तबाट निर्देशित नेपाल–चीन सम्बन्ध दशकौंदेखि मजबुत र स्थिर रहेको उनको भनाइ छ ।

उनले भने, ‘हामीले युवाहरूका लागि अर्थपूर्ण रोजगारी सिर्जना गर्नुपर्छ र डिजिटल अर्थतन्त्र तथा उदीयमान प्रविधिले सिर्जना गरेका अवसरहरूलाई प्रभावकारी रूपमा सदुपयोग गर्नुपर्छ । आज नेपाल र चीनबीचको सहकार्य पूर्वाधार विकास, व्यापार, लगानी, पर्यटन, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र जनस्तरको सम्बन्धसम्म विस्तार भएको छ । यो साझेदारीले नेपालको विकासको आकांक्षालाई मात्र नभई क्षेत्रीय कनेक्टिभिटी, स्थिरता र साझा समृद्धिलाई समेत टेवा पुर्‍याएको छ ।’

विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुने उनको तर्क छ । नेपाल र चीनले सधैं एकअर्काको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र स्वतन्त्र विकासको छनोटलाई सम्मान गर्दै आएको स्मरण गर्दै उनले आगामी दिनमा दुई देशबीचको पारस्परिक हितमा आधारित साझेदारी अझ गहिरो हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =