छिमेकीको समृद्धिबाट नेपालले लाभ लिनुपर्छ : महामन्त्री आचार्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले छिमेकी राष्ट्र चीनको विकास र समृद्धि नेपालका लागि अवसर भएको बताएका छन् ।

‘चिनियाँ कम्युनिष्ट पार्टीको १०५ वर्षः ऐतिहासिक अनुभव र नेपालको विकास’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

महामन्त्री आचार्यले विगत एक शताब्दीमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले देशलाई संकटबाट समृद्धितर्फ डो¥याउन खेलेको भुमिका विश्वकै लागि उदाहरणीय रहेको बताए ।

नेपाल र चीनबीचको सम्बन्ध केवल भौगोलिक सीमानामा मात्र सिमित नभई कलाकार अरनिकोको समयदेखि नै सांस्कृतिक र भावनात्मक रूपमा जोडिएको उनले उल्लेख गरे ।

दुई देशबीचको सम्बन्ध पारिवारिक र प्रगाढ रहेको चर्चा गर्दै उनले आगामी दिनमा रास्वपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘एउटा सक्षम र समर्पित राजनीतिक दलले कसरी देशलाई प्रतिकूलताबाट समृद्धितर्फ लैजान सक्छ भन्ने उदाहरण चीनले प्रस्तुत गरेको छ । नयाँ दलका रूपमा रास्वपाले सीपीसीको यो सफल यात्राबाट धेरै कुरा सिक्न सक्छ । हाम्रा विचारधारा फरक होलान्, तर जनताको सेवा गर्दा नै राजनीतिक दल र अन्ततः देशको प्रगति हुन्छ भन्ने साझा मान्यतामा हामी एक छौँ । छिमेकी समृद्ध हुँदा त्यसको प्रत्यक्ष–परोक्ष लाभ हामीलाई पनि हुन्छ । समृद्ध छिमेकीबाट हामीले प्रविधि, पूर्वाधार विकास र जैविक प्रविधि (बायोटेक्नोलोजी) लगायतका क्षेत्रमा सहयोग र सहकार्यको अपेक्षा राखेका छौँ ।’

सीपीसी र रास्वपाको राजनीतिक विचारधारा र शासन पद्धतिमा भिन्नता भएपनि दुवैको मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै रहेको उनले प्रस्ट पारे ।

नेपाल हाल विकासको महत्त्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै उनले छिमेकी राष्ट्रको प्रगतिबाट अधिकतम लाभ लिँदै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + two =