७ वटै विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले लिए शपथ (तस्बिरसहित)

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयसहित विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । आज मन्त्रालयमा नवनियुक्त उपकुलपतिहरूलाई मन्त्री पोखरेलले शपथ गराएका हुन् ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालचन्द्र शाहले आजै त्रिभुवन विश्वविद्यालयसहित विभिन्न सात विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका थिए । विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा सिफारिस उम्मेदवारहरुमध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गरेका हुन् ।
यसरी उपकुलपतिको पद तथा गोपनीयताको शपथ लिनेहरूमा क्रमशः त्रिभुवन विश्वविद्यालयमा प्रा डा भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल रहेका छन् ।

त्यसैगरी, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टाले उपकुलपति पदको शपथ लिएका छन् । सो अवसरमा विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षामन्त्री पोखरेलले निष्पक्ष, स्वतन्त्र, व्यावसायिक र पारदर्शी ढङ्गले विश्वविद्यालयको काम कारबाही गर्न निर्देशन दिए ।

“सबै जनाले इतिहास बनाउने गरी आफ्नो अवधिमा काम गर्नुहोला, यसमा सरकार र मन्त्रालयको पूर्ण सहयोग रहन्छ । कसैको दबाबमा नपरी व्यावसायिक तवरले जिम्मेवारी निर्वाह गर्नुहोला”, उनले भने ।

मन्त्री पोखरेलले सबै विश्वविद्यालय र सम्भव भएका आंज्ञिक क्याम्पसहरूमा १० प्रतिशत छात्रवृत्ति पारदर्शी ढङ्गले अनिवार्य गराउन तथा विश्वविद्यालय र क्याम्पसमा भएका युनियन र ट्रेड युनियनका ब्यानरहरू हटाउन आवश्यक निर्देशन समेत दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव किरण राज शर्माले नवनियुक्त उपकुलपतिहरूबाट शिक्षा क्षेत्रको समग्र सुधारका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

शपथ पछि नवनियुक्त उपकुलपतिहरूले विश्वविद्यालयको साख र गरिमालाई कायम राख्दै निर्भीकता र इमानदारिता साथ काम गर्ने प्रतिबद्धता जनाए । उनिहरूले सरकारद्धार खुला प्रस्पिर्धाको माध्यमबाट उपकुलपति छनौट प्रक्रियाले आफूहरूको मनोबल उच्च रहेको भन्दै प्रतिबद्धताबमोजिम काम गर्ने विश्वास व्यक्त गरे । खुला प्रतिस्पर्धाबाट उपकुलपतिलाई नियुक्त गरिएको हो । उपकुलपतिको नाम सिफारिस गर्न शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरिएको थियो । उक्त समितिले विज्ञको नेतृत्वमा अर्को उपसमिति बनाएर उपकुलपति छनौट गरिएको हो ।

यस्ता छन् शपथका तस्बिरहरु:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + five =