टी-२० विश्वकपमा साविक विजेता भारतको सुखद सुरुआत, अमेरिका २९ रनले स्तब्ध

काठमाडौं । विश्वकप क्रिकेटको साविक विजेता भारतले आइसिसी टी-२० विश्वकपमा विजयी सुरुआत गरेको छ । मुम्बईस्थित ऐतिहासिक वानखेडे स्टेडियममा भएको रोमाञ्चक भिडन्तमा घरेलु टोली भारतले भ्रमणकारी टोली अमेरिकालाई २९ रनले पराजित गर्दै प्रतियोगितामा आफ्नो दबदबा कायम राखेको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा चुनौतीपूर्ण १६१ रनको योगफल तयार पारेको थियो । भारतको ब्याटिङलाई मजबुत बनाउन कप्तान सूर्यकुमार यादवले कप्तानी पारी खेले । उनले ४९ बलको सामना गर्दै अविजित ८४ रनको योगदान दिए । यादवको संयमित र उत्कृष्ट प्रहारकै मद्दतले भारतले सम्मानजनक स्कोर खडा गर्न सफल भएको हो । अमेरिकाका लागि बलिङतर्फ शाड्ली भ्यान शाल्कविकले घातक बलिङ गर्दै सर्वाधिक ४ विकेट लिए पनि उनले भारतलाई विशाल स्कोर बनाउनबाट रोक्न सकेनन् ।
१६२ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रनमा खुम्चिन पुग्यो । अमेरिकाका लागि कृष्ण सन्जयमुर्ती र शुभम रन्जनेले समान ३७-३७ रन जोड्दै आशा जगाएका थिए, तर भारतीय बलरहरूको धारिलो आक्रमणसामु अन्य ब्याटर टिक्न सकेनन् ।
अमेरिकालाई सस्तैमा समेट्न भारतीय बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । तीव्र गतिका बलर मोहम्मद सिराजले ३ विकेट लिए भने आशिर्वाद सिंह र स्पिनर अक्षर पटेलले समान २-२ विकेट बाँडे । त्यस्तै वरुण चक्रवतिले एक विकेट लिँदै टोलीको जित सुनिश्चित गरे । विश्वकप अन्तर्गत शनिबार सम्पन्न अन्य खेलहरूमा पाकिस्तान र वेस्ट इन्डिजले पनि आ-आफ्नो खेलमा जित दर्ता गरेका छन् ।








