तपाईँहरूले खोजेजस्तो काँग्रेस बनेको छ, मतदान गर्नुस्: प्रदीप पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले आम जनताले खोजेजस्तो आफ्नो पार्टीमा परिवर्तन आएको दाबी गरेका छन् ।
शनिवार काठमाडौँको क्षेत्र नम्बर ५ मा आयोजित चुनावी सभामा बोल्दै उनले सो दाबी गरेका हुन् ।
नेपाली काँग्रेसका क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले देशलाई रूपान्तरण गर्ने गरी काँग्रेसको नीति र नेतृत्व परिवर्तन भएको उल्लेख गर्दै देशको रूपान्तरण गर्नका लागि आफ्नो पार्टीलाई मतदान गर्न पनि आम मतदातालाई अपिल गरे । उनले पार्टीका नेता, कार्यकर्ताहरूलाई पनि देशको रूपान्तरणका लागि काँग्रेसको पक्षमा मतदान गराउनका लागि केन्द्रित भएर लाग्न सचेत गराए ।
महामन्त्री पौडेलले आम जनताले मत दिएर नेपाली काँग्रेसलाई देश रूपान्तरणका लागि बल प्रदान गर्नुपर्ने बताए ।
उनले भने ‘म काँग्रेसका तमाम साथीहरूलाई आग्रह गर्न चाहन्छु–तपाईँले भनेजस्तो काँग्रेस बनेको छ । तपाईँले काँग्रेसमा जस्तो रूपान्तरण खोज्नुभएको छ । काँग्रेसमा त्यो रूपान्तरण भएको छ । अब रूपान्तरित काँग्रेसले देशको रूपान्तरण गर्न चाहन्छ । त्यसको निम्ति मत दिएर बल प्रदान गर्नुस् । मत दिएर तागत प्रदान गर्नुस् । हामीले आम मतदातालाई त्यो भन्न जरुरी छ । राजनीतिमा परिपक्वता भएन, आवेग मात्रै भयो भने देश सही बाटोरित जान सक्दैन । निर्णय सही ढंगबाट हुन सक्दैन । खासगरी अहिले काँग्रेसको नेतृत्व गरिरहेको हामीहरू पनि पछिल्लो पुस्ताकै हौ तुलनात्मक हिसाबबाट । तर हाबी के दाबी गर्छौँ भने नेपालमा परिवर्तन गर्ने नेपालमा लोकतन्त्रलाई संस्थागत गर्ने आन्दोलनमा केटाकेटीदेखि नै लागेका मान्छे हौ ।’
महामन्त्री पौडेलले नेपाली काँग्रेसमा परिपक्व तर युवा पुस्ता नेतृत्वमा आएकाले देशको परिवर्तन सम्भव हुने जिकिर समेत गरे ।








