सीमा सुरक्षा बैठकमा सहभागी सशस्त्रका एसपी घिमिरेको निधन

काठमाडौं । नेपाल र भारतका सीमा सुरक्षा अधिकारीहरूबीच मोरङमा आयोजित उच्चस्तरीय समन्वय बैठकमा सहभागी सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राजेश घिमिरेको असामयिक निधन भएको छ ।
मोरङको बिराटचोकमा शुक्रबार आयोजित नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बलका डीआईजी स्तरीय समकक्षी समन्वय बैठक चलिरहेका बेला एसपी घिमिरे एक्कासि बेहोस भएर ढलेका थिए । बैठकमा सीमा सुरक्षा र द्विपक्षीय सरोकारका विषयमा छलफल भइरहेका बेला उनको स्वास्थ्यमा अचानक समस्या देखिएको थियो ।
बैठकस्थलमै ढलेपछि उनलाई तत्काल उपचारका लागि विराट मेडिकल कलेज पुर्याइएको थियो । उपचारकै क्रममा शुक्रबार राति ८ बजेर ५२ मिनेटमा उनको निधन भएको सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी पकली, सुनसरीका डीआईजी कुमार न्यौपानेले पुष्टि गरे ।
चिकित्सकहरूका अनुसार उनलाई उच्च रक्तचापको समस्या देखिएको थियो । बेहोस भएर ढल्दा उनको जिब्रोमा समेत चोट लागेको (काटिएको) थियो । अस्पताल पुर्याउँदा स्वास्थ्य अवस्था थप गम्भीर बनेपछि उनलाई बचाउन भेन्टिलेटरमा राखिएको भए पनि चिकित्सकहरूको प्रयास सफल हुन सकेन । घिमिरे सशस्त्र प्रहरीका एक कुशल र कर्तव्यनिष्ठ अधिकृतका रूपमा चिनिन्थे ।








