इक्यानको राजश्व विवादमा सर्वोच्चले दिएन निस्सा, सवा दुई करोडभन्दा बढी कर तिर्नै पर्ने

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले गरेको कर जरिवाना छलि प्रकरणमा सर्वोच्च अदालतले निस्सा दिन अस्वीकार गरेको छ । यससँगै इक्यानले सवा दुई करोडभन्दा बढी कर जरिवाना, थप दस्तुर र ब्याजसहित तिर्नै पर्ने भएको छ ।

शुक्रवार सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले इक्यानको निवेदनमा निस्सा दिन अस्वीकार गरेको हो । शुक्रवारको फैसलासँगै इक्यानले ६ आर्थिक वर्षको कर राजश्व जरिवानासहितको रकम बुझाउनुपर्ने अवस्था आएको छ ।

इक्यानले आन्तरिक राजश्व कार्यालय बत्तिसपुतली र राजश्व अनुसन्धान विभागको निर्णयविरुद्ध मुद्दा लड्न भन्दै २०८० फागुन २८ गते सर्वोच्च अदालतमा निवेदन दिएको थियो । तर सर्वोच्चबाट निस्सा नपाएपछि अब इक्यानले कर दाखिला गर्नै पर्ने भएको हो ।

इक्यानले कर छलि गरेको समाचार मकालुखबरले प्रकाशित गरेको थियो । त्यसपछि नियामक निकायले इक्यानमाथि थप अनुसन्धान गरेको थियो ।

-इक्यानले जरिवानासहित सवा २ करोड कर बुझाउनुपर्ने (आदेशसहित)

-इक्यानले राजश्व छलि गरेको न्यायाधीकरणको पनि ठहर

यसअघि आन्तरिक राजश्व कार्यालय बत्तिसपुतली र राजश्व अनुसन्धान विभागले गरेको कर निर्धारणलाई राजश्व न्यायाधीकरणले पनि सदर गरेको थियो । राजश्व विभागको निर्णय अनुसार इक्यानले अब आर्थिक वर्ष २०७१/०७२ देखि २०७६/०७७ सम्मको कर बापत कुल २ करोड २५ लाख ६४ हजार ४७० रुपैयाँ बुझाउनु पर्नेछ ।

यी ६ आर्थिक वर्षमा कर रकम मात्रै ७४ लाख ९९ हजार ५०९ रुपैयाँ निर्धारण गरिएको छ । तर समयमै कर दाखिला नगरेकाले जरिवाना, थप दस्तुर र ब्याज जोडिँदा रकम दोब्बरभन्दा बढी पुगेको हो ।

इक्यानले आफू मूल्य अभिवृद्धि करमा दर्ता नभएकाले भ्याट तिर्न नपर्ने जिकिर गर्दै आएको थियो । विद्यार्थीबाट संकलन भएको रकममध्ये सेवा शुल्क कटाई बाँकी रकम ब्रिटिस काउन्सिलको खातामा जम्मा गर्ने भएकाले सम्पूर्ण रकम आफ्नो आम्दानी नभएको दाबी इक्यानको थियो ।

तर राजश्व कार्यालय, राजश्व न्यायाधीकरण र अब सर्वोच्च अदालतको प्रक्रियाबाट पनि इक्यानको दाबी अस्वीकृत भएको छ । राजश्व न्यायाधीकरणले भ्याट तिर्नु पर्ने आदेश मिलेकै देखिएको भन्दै कर दाखिला गर्नै पर्ने ठहर गरिसकेको छ ।

सर्वोच्चबाट निस्सा अस्वीकार भएसँगै अब इक्यानले कर छलिको मुद्दामा थप कानुनी राहत पाउने सम्भावना भने कमजोर बनेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =