जन्ती बस दुर्घटनामा १३ जनाले ज्यान गुमाएपछि पुर्चौडीले दियो शोक बिदा

काठमाडौं । बैतडीको पुर्चौडी नगरपालिकामा बिहीबार राति भएको बस दुर्घटनाले जिल्लाभर शोक छाएको छ । दुलही पुर्‍याएर फर्किएको जन्ती बस दुर्घटनामा परी १३ जनाको मृत्यु भएपछि नगरपालिकाले आज शुक्रबार एक दिनका लागि नगरभरि ‘शोक बिदा’ घोषणा गरेको छ ।

नगरपालिकाले एक विशेष सूचना जारी गर्दै यस दुःखद घडीमा मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गरेको छ । शोक बिदाको अवसरमा आज नगरपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था (विद्यालय तथा कलेज) एवं निजी क्षेत्रका कार्यालयहरू पूर्ण रूपमा बन्द रहने नगरपालिकाले जनाएको छ ।

कसरी भयो दुर्घटना?
बिहीबार राति ८ बजेको समयमा पुर्चौडी नगरपालिका–७ को भौनीबाट दुलही छाडेर फर्किएको पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको हो । उक्त बस सोही वडाको बढ्गाउँ मोडमा अनियन्त्रित भई सडकबाट तल खसेको थियो ।

दुर्घटनामा परी १३ जनाले ज्यान गुमाएका छन् भने ३४ जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको स्थानीय स्वास्थ्य संस्था तथा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । रातको समय र अप्ठ्यारो भूगोलका कारण उद्धार कार्यमा केही कठिनाइ भए पनि सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा घाइतेहरूलाई अस्पताल पुर्‍याइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =