प्रचण्डले मानेनन् झापा-५ मा सघाउन ओलीले गरेको प्रस्ताव

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) ले अघि सारेको चुनावी तालमेलको प्रस्तावलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले औपचारिक रूपमै अस्वीकार गरेको छ । विशेष गरी झापा निर्वाचन क्षेत्र नम्बर ५ लाई केन्द्रित गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले राखेको सहकार्यको प्रस्तावलाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अस्वीकार गरिदिएका हुन् ।
तालमेलका विषयमा एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्डबीच टेलिफोन संवाद भएको थियो । संवादका क्रममा ओलीले झापा-५ लगायतका क्षेत्रमा आपसी समझदारीको प्रस्ताव गरे पनि प्रचण्डले आफ्नो पार्टी देशभरका १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेर प्रचारप्रसारको ‘कमान्ड’ सम्हालिसकेकाले अब पछि हट्न नसकिने जवाफ दिएका छन् ।
नेकपाका निर्वाचन प्रचारप्रसार समिति संयोजक अग्नि सापकोटाले पार्टी अब पूर्ण रूपमा निर्वाचनको मैदानमा होमिएको स्पष्ट पारेका छन् । उनले भने, ‘एमालेबाट तालमेलको प्रस्ताव आएको सत्य हो, तर हामीले देशभर १६४ क्षेत्रमा उम्मेदवार उठाएर युद्धस्तरमा चुनावी अभियान सुरु गरिसकेका छौँ । त्यसैले अब कसैसँग तालमेल हुने सम्भावना छैन ।’
नेकपाले झापा-५ मा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङलाई चुनावी मैदानमा उतारेको छ । एमाले र नेकपाबीच तालमेल हुन सक्ने चर्चा चलिरहेका बेला संयोजक प्रचण्डले पार्टी पंक्तिलाई सम्बोधन गर्दै कुनै पनि भ्रममा नपर्न निर्देशन दिएका छन् । देशभरका निर्वाचन परिचालन समितिलाई भर्चुअल माध्यमबाट निर्देशन दिँदै उनले अबको एक मात्र लक्ष्य चुनावी घरदैलोलाई तीव्र बनाउनु रहेको बताए ।
एमालेको प्रस्तावलाई शङ्कास्पद रूपमा हेर्नुको पछाडि रुकुम पूर्वको पछिल्लो राजनीतिक घटनाक्रमलाई मुख्य कारण मानिएको छ । संयोजक प्रचण्ड आफैँ उम्मेदवार रहेको रुकुम पूर्वमा एमालेले आफ्ना उम्मेदवार लीलामणि गौतमलाई निष्क्रिय गराउँदै सन्दीप पुनलाई समर्थन गर्ने निर्णय गरेपछि नेकपा नेतृत्व सशङ्कित बनेको हो ।








