झापा-५ मा ओलीको ‘रिपोर्ट कार्ड’ : ७ पक्की पुलदेखि स्मार्ट सिटीसम्म, सचिव बस्नेतले सार्वजनिक गरे २५ उपलब्धि !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृह निर्वाचन क्षेत्र झापा क्षेत्र-५ मा पछिल्लो १५ वर्षमा अभूतपूर्व विकास भएको दाबीसहित एमाले नेतृत्वले त्यसको ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेको छ । एमाले सचिव महेश बस्नेतले अध्यक्ष ओलीको नेतृत्वमा यस क्षेत्रले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषिका क्षेत्रमा प्राप्त गरेका उपलब्धिलाई ‘ठोस परिवर्तन र भविष्यको नक्सा’ को रूपमा प्रस्तुत गरेका हुन् ।
ओलीको कार्यकालमा झापा-५ मा यातायात र कनेक्टिभिटीका क्षेत्रमा ठूलो फड्को मारिएको बस्नेतको दाबी छ । सार्वजनिक विवरण अनुसार राजमार्ग बाहेकका स्थानमा रतुवा नदीमा मात्रै ७ वटा पक्की तथा झोलुङ्गे पुलहरू निर्माण भएका छन् । त्यस्तै, कमल खोला र मावा खोलामा विभिन्न स्थानलाई जोड्ने गरी आधुनिक पुलहरू निर्माण गरिएका छन् ।
सडक सञ्जालतर्फ पाडाजुगी-जिम्दारचोक ४ लेन सडक विस्तार, मदन भण्डारी राजमार्ग र हुलाकी राजमार्गको निर्माणमा तीव्रता, र मंगलबारे-क्याम्पा जस्ता ग्रामीण सडकहरूको स्तरोन्नतिलाई ओलीको कार्यकालका प्रमुख उपलब्धिका रूपमा लिइएको छ । यी सडक सञ्जालले यस क्षेत्रको आर्थिक गतिविधि र बजार पहुँचलाई सहज बनाएको छ ।
विकासलाई मानवीय संवेदनासँग जोड्दै दमकमा विपन्न र सुकुम्बासी वर्गका लागि ‘नमुना बस्ती’ निर्माण गरिएको छ । यो आयोजनालाई मुलुककै उदाहरणीय आवास कार्यक्रमका रूपमा लिइएको छ । त्यस्तै, गौरिगन्जलाई ‘स्मार्ट सिटी’ का रूपमा विकास गर्न पूर्वाधार निर्माणका कार्यहरू अघि बढाइएको छ भने दमक बजारको सौन्दर्यीकरण र नदी ब्युटिफिकेसनका कामहरूले नगरको स्वरूप बदलेको छ ।
ओलीले आफ्नो क्षेत्रलाई शैक्षिक र प्राविधिक केन्द्र बनाउन विशेष पहल गरेको सचिव बस्नेतले उल्लेख गरेका छन् । दमकमा सिटिइभिटी क्याम्पस सञ्चालन र गौरदहमा कृषि क्याम्पसको स्थापना हुनु यस क्षेत्रका लागि ठूलो शैक्षिक उपलब्धि हो । जनता मावि (गौरदह), दमक बहुमुखी क्याम्पस, दुलारी-डुकुरपानी मावि र हिमालय मावि लगायतका विद्यालयहरूमा भौतिक पूर्वाधार विस्तार गरी शैक्षिक गुणस्तर सुधारमा जोड दिइएको छ ।
यसैगरी, कृषि क्षेत्रमा आधुनिकीकरणका लागि नमुना सहकारी खेती प्रवर्द्धन र पूर्वाधार सहयोगलाई प्राथमिकता दिइएको छ, जसले स्थानीय किसानहरूको आयआर्जनमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
झापाको मुख्य समस्याका रूपमा रहेको नदी कटान नियन्त्रणका लागि रतुवा र मावा नदीमा किलोमिटरौँ लामो तटबन्ध निर्माण सम्पन्न भएका छन् । यसले वर्षायाममा हुने जनधनको क्षति न्यूनीकरणमा उल्लेख्य सहयोग पुर्याएको छ । साथै, यस क्षेत्रमा रोजगारी सिर्जनाका लागि औद्योगिक क्षेत्र निर्माणको प्रक्रिया स्वरूप जग्गा अधिग्रहण जस्ता प्रारम्भिक कामहरू सम्पन्न भइसकेका छन् । ‘पछिल्ला १५ वर्षमा देखिएको विकास र भविष्यको नक्साले झापा-५ को मुहार फेरिएको छ,’ बस्नेतले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
झापा क्षेत्र नं. ५ मा भएका मुख्य विकास निर्माणका कार्यहरू:
१. राजमार्गबाहेक रतुवा नदीमा ७ वटा पक्की तथा झोलुङ्गे पुलहरूको निर्माण।
२. कमल खोलामा क्याम्पा र धरमपुर जोड्ने पुल निर्माण।
३. मङ्गलबारे–क्याम्पा सडक खण्डको कालोपत्रे।
४. पाडाजुँगी–जिम्दारचोक चार लेन सडक विस्तार (गौरीगञ्जसम्म विस्तारको तयारी, हाल बजेट रोक्का)।
५. इलामको चुलाचुलीस्थित रतुवा नदीमा २ वटा पक्की र १ वटा झोलुङ्गे पुल निर्माण।
६. मदन भण्डारी राजमार्ग निर्माण कार्यमा तीव्रता।
७. मावा खोलामा मिक्लाजुङ र उर्लाबारी जोड्ने पुल निर्माण।
८. दमकमा विपन्न वर्गका लागि ‘नमुना बस्ती’ निर्माण।
९. राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग निर्माण कार्यलाई गति।
१०. केर्खा–क्याम्पा हुँदै शिवसताक्षी जोड्ने सडक निर्माण।
११. बैगुन्धुरा–कोहबरा सडक निर्माण कार्यमा तीव्रता।
१२. गौरादह स्कुलचोक सडक सम्पन्न र भानुमार्ग निर्माणमा तीव्रता।
१३. नमुना सहकारी खेती प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार सहयोग।
१४. औद्योगिक क्षेत्र निर्माणका लागि जग्गा अधिग्रहणको कार्य।
१५. दमकमा आधुनिक ढल (सिबेज) प्रणालीको निर्माण।
१६. ताराबारी–डिपु सडक निर्माण सम्पन्न।
१७. दमक–मधुमल्ला र दमक–डुकुरपानी सडक निर्माण।
१८. रतुवा नदीमा तटबन्ध निर्माण (झन्डै २ किलोमिटर बाँकी, जुन यसै वर्ष सम्पन्न हुने)।
१९. मावा नदीमा तटबन्ध निर्माण सम्पन्न र कमल खोलामा तटबन्ध निर्माण कार्य।
२०. गौरीगञ्ज ‘स्मार्ट सिटी’का लागि आवश्यक पूर्वाधार निर्माण।
२१. दमक बजारको सौन्दर्यीकरण तथा नदीको ‘ब्युटिफिकेसन’।
२२. पर्यटकीय महत्त्वको गौरादह पोखरी निर्माण।
२३. जनता मावि (गौरादह), दमक बहुमुखी क्याम्पस, डुकुरपानी मावि, हिमालय मावि लगायतका विद्यालयहरूमा भौतिक पूर्वाधार विस्तार।
२४. दमकमा सीटीईभीटी (CTEVT) आङ्गिक क्याम्पस सञ्चालन।
२५. गौरादहमा कृषि क्याम्पस स्थापना, भवन निर्माण तथा उचित व्यवस्थापन ।








