लुम्बिनीको स्थापना दिवस: सङ्घीयताको बलियो आधार नै प्रदेश

लुम्बिनी । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशको दिगो विकास र समृद्धिका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

उनले लुम्बिनी प्रदेश संवेदनशीलसँगै राम्रो रहेको उल्लेख गर्दै अब कस्तो बनाउने भन्ने कुरा शासन गर्नेहरूको काँधमा रहेको बताए ।

प्रदेशको नवौँ स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेश सभाको संयुक्त आयोजनामा आज राप्ती उपत्यका (देउखुरी) आज सम्पन्न मूल समारोह कार्यक्रममा उनले सबै पक्ष र तहको आवाज प्रदेशले सुन्नुपर्ने धारणा राख्दै इतिहासको कालखण्डमा शासन गर्नेहरूको निर्णयका आधारमा ठाउँहरूको विकास भएको स्मरण गरे ।

उनले प्रादेशिक संरचना र राजधानी क्षेत्रलाई खेतको फाँटभन्दा उँचो क्षेत्रमा विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे । ‘खेतको फाँट जोगाउनुपर्छ, मैले सुझाव दिँदा पनि त्यसैगरी दिएको थिएँ’, उनले भने, ‘धान फल्ने फाँट जोगायौँ भने कोही भोकै बस्नुपर्दैन ।’

कार्यक्रममा प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश स्थापना भएको आठ वर्ष पूरा हुँदै गर्दा सङ्घीयतालाई बलियो बनाउने काम प्रदेशबाट भएको बताए । सङ्घीयताका कारण जनताको घर आँगनमा विकास पुगेको र जनताले त्यसको अनुभूति गर्न पाएको उनको भनाइ छ ।

‘आज सङ्घीयताका कारण प्रदेश स्थापना भयो, प्रदेशले गरेका कामहरूको अनुभूति नागरिकहरूले गर्न पाउनुभएको छ’, उनले भने, ‘आज केही भएन, प्रदेश बोझिलो भयो भन्नेहरूलाई एक पटक प्रदेशमा भएको खर्चहरूको विवरण हेरेर मात्रै मूल्याङ्कन गर्न अनुरोध गर्दछु, गलत भाष्य खडा गर्ने काम नगरियोस् ।’

प्रदेश बोझिलो नभई विकास निर्माणको आधारका रूपमा स्थापित हुँदै गएको उनले स्पष्ट पारे । यसका साथै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सुशासन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार अन्त्यका लागि पाँच वर्षे रणनीतिक योजना बनाएर लागू गरेको जानकारी दिए ।

‘अहिले सुशासन र पारदर्शिताको कुरा बढी उठाइएको छ, प्रदेश सरकारले पहिल्यै यस क्षेत्रमा कानुनी आधार तयार पारेर काम गरिसकेको छ’, उनले भने, ‘प्रदेशको काम र जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सफल भएका छौँ ।’

प्रदेश सभामुख तुलाराम घर्तीमगरले प्रदेशसभा र प्रदेश सरकारले जनताको आधारभूत आवश्यकतासँग जोडिएका क्षेत्रमा कानुन निर्माण गर्ने र अनुभूति हुने गरी कार्यान्वयन गर्ने पक्षलाई बलियो बनाउँदै लगेको बताए ।

उनले ऐन र कानुन निर्माण गरेर प्रदेशलाई यो अवस्थासम्म ल्याउन सफल भएको बताए । ‘कानुन निर्माणमा लुम्बिनी प्रदेश अन्य प्रदेशको तुलनामा अग्रणी स्थानमा छ, कार्यान्वयन तहमा पनि त्यसैगरी अघि बढिरहेको छ’, उनले भने, ‘अब हामी जनतासँग जोडिएका कानुन बनाउने गरी भूमिका बढाइरहेका छौँ ।’

पूर्वमुख्यमन्त्री जोखबहादुर महराले प्रदेशको विकासका लागि सुशासन आवश्यक रहेको बताए । समृद्ध र आत्मनिर्भर प्रदेश बनाउन पूर्वाधार तथा मानवीय श्रम शक्तिको विकास अनिवार्य रहेको उनको भनाइ छ । ‘लुम्बिनीलाई समृद्ध र आत्मनिर्भर प्रदेश बनाउन कृषि र पर्यटनलाई केन्द्रमा राखेर योजना बनाउन आवश्यक छ’, उनले भने, ‘समृद्धिको कामलाई अघि बढाउन सुशासन चाहिन्छ, त्यस दिशामा प्रदेशले कामको गति बढाउन जरुरी छ ।’

कार्यक्रममा प्रदेशसभाले आयोजना गरेको खुला वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने गलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय बर्दियाकी पूर्णिमा ओली, दोस्रो स्थान हासिल गर्ने माउन्ट भ्यु इङ्लिस बोर्डिङ स्कुल घोराहीकी सलिना पौडेल र तृतीय स्थान हासिल गर्ने सोही विद्यालयका सिद्धान्त अधिकारीलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 5 =