महिला क्रिकेट टोली नयाँ जर्सीमा, एक्सट्रिम इनर्जी ड्रिंक्ससँग दुई वर्षे साझेदारी

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र एक्सट्रिम इनर्जी ड्रिंक्सबीचको साझेदारीअन्तर्गत नेपाल राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ। दुई वर्षे जर्सी प्रायोजन सम्झौताअनुसार तयार गरिएको जर्सीमा एक्सट्रिम इनर्जी ड्रिंक्सको लोगो समावेश गरिएको छ।
बुधवार काठमाडौँमा आयोजित जर्सी अनावरण कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का महासचिव राम चरित्र मेहेता र क्यानका सचिव पारस खड्काले नयाँ जर्सी सार्वजनिक गरेका हुन्। कार्यक्रममा नेपाल क्रिकेट सङ्घका पदाधिकारी, राष्ट्रिय महिला क्रिकेट टोलीका खेलाडी, एक्सट्रिम इनर्जी ड्रिंक्सका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा एक्सट्रिम इनर्जी ड्रिंक्सले नेपाली क्रिकेट, विशेष गरी महिला क्रिकेटको विकासमा दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। जर्सी प्रायोजनमार्फत खेलाडीहरूलाई प्रोत्साहन, आत्मविश्वास र व्यावसायिक वातावरण प्रदान हुने विश्वास व्यक्त गरिएको छ।
त्यसै गरी राष्ट्रिय खेलकुद परिषद्का महासचिव मेहेताले निजी क्षेत्रबाट प्राप्त यस्तो सहयोगले नेपाली क्रिकेटको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताएका छन्। सार्वजनिक गरिएको नयाँ जर्सीले राष्ट्रिय महिला क्रिकेट टोलीको पहिचानलाई अझ सशक्त बनाउने र अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई थप गौरवान्वित बनाउने अपेक्षा गरिएको छ।
यसै क्रममा एक्सट्रिम इनर्जी ड्रिंक्सले आइसिसी मेन्स टी–२० विश्वकप क्रिकेटका खेलहरू हेर्न स्टेडियम पुग्ने समर्थकहरूका लागि भारतको वानखडे स्टेडियममा २,००० थान नेपाली क्रिकेट टोलीको जर्सी निःशुल्क वितरण गर्ने जानकारी पनि दिएको छ।









