चिसोले चुनाव छेक्दैन, गाडी चढाएरै भए पनि मतदान केन्द्र पुर्‍याउँछौं : प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने ठोकुवा गरेकी छिन् । सरकार जसरी पनि निर्वाचन गराउन कटिबद्ध रहेको भन्दै उनले कुनै पनि बहानामा चुनाव नसर्ने स्पष्ट पारेका हुन् ।

कुनै विशेष कारणवश कतै निर्वाचन रोकिएमा दोस्रो चरणमा भए पनि सम्पन्न गराइने उनले बताए । विशेषगरी हिमाली जिल्लाहरूमा अत्यधिक चिसोका कारण मतदानमा कठिनाइ उत्पन्न हुन सक्ने विषयमा सरकार सचेत रहेको उनको भनाइ छ । त्यस्तो अवस्था सिर्जना भएमा सवारी साधनको प्रयोग गरेरै भए पनि मतदातालाई ओसारेर निर्वाचन गराइने योजना उनले सुनाए । चुनावलाई ‘इमर्जेन्सी’ अवस्थाका रूपमा चित्रण गर्दै उनले भने, ‘जसरी पनि निर्वाचन गराउनुपर्छ । निर्वाचनमार्फत जनताले मत दिएर नयाँ प्रतिनिधि चुनेपछि उनीहरूलाई नै देश चलाउन सत्ता हस्तान्तरण गरिनेछ । चुनाव सर्दैन, किन सार्नु र ?’

यसपटकको निर्वाचनमा करिब ३१ देखि ३२ अर्ब रुपैयाँ खर्च हुने अनुमान सरकारले गरेको छ । भौतिक पूर्वाधार तथा साधनहरूको अभाव पूर्ति गर्दा खर्चको आकार बढेको उनले बताए । अहिले भइरहेको खर्चमा विभिन्न मित्रराष्ट्रहरूबाट सहयोग प्राप्त भइरहेको र यदि यो परिस्थिति नआएको भए सो सहयोग अन्य विकास निर्माणमा खर्च हुन सक्ने संकेत उनले गरे । शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन सरकार गम्भीर र पूर्ण रूपमा सतर्क रहेको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =