हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन गर्नुपर्छ: नवराज सिलवाल

काठमाडौँ । नेकपा एमालेका नेता नवराज सिलवालले हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन गर्नेगरी सरकार अघि बढ्नुपर्ने बताएका छन् ।

नेपाल कानुन समाजले मंगलवार विज्ञहरूसँग प्रतिनिधि सभा निर्वाचनको सम्बन्धमा आयोजना गरेको छलफलमा उनले मौसम लगायतको कारण हिमाली क्षेत्रमा निर्वाचन सार्नुपर्ने बताएका हुन् ।

नेता सिलवालले राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र सरकारको तयारीले अब मुलुक निर्वाचनमा प्रवेश गरिसकेको निष्कर्षमा पुग्न सकिने बताए । उनले हिमाली क्षेत्रमा भौगोलिक चुनौतीबाहेक अब अन्य सुरक्षा चुनौतीका कारण निर्वाचन रोकिने अवस्था नरहेको बताए । उनले संसद् पुनः स्थापनाको लागि सर्वोच्च अदालतमा पेस भएको मुद्दाको सुनुवाइ नभएको भने असन्तुष्टि जनाए ।

अदालतले समयमै स्पष्ट धारणा राख्न सकेमा न्यायालयको गरिमा अझ बढ्ने उनको भनाई छ । अदालतले मुद्दा आइसकेपछि त्यसलाई ‘एस अर नो’ के हो भन्ने विषयमा स्पष्ट रूपमा समयमा नै फैसला गर्न आवश्यक रहेको बताए । सिलवालले बङ्गलादेशमा सन् २०२४ को अगस्तमा भएको हिंसा र त्यसपछि बनेको अन्तरिम सरकारले दुई वर्षसम्म पनि निर्वाचन गर्न नसकेको उल्लेख गरे ।

तर नेपालमा भने भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनपछि पनि संविधानअनुसार नै निर्वाचन प्रक्रिया अघि बढिरहेको बताए । वर्तमान संविधानअनुसार नै नयाँ र पुराना शक्तिहरू एक ठाउँमा आएर निर्वाचनमा होमिनुले नेपाल शान्तिपूर्ण भएको सन्देश दिन सकिने बताए ।

उनले भने ‘निर्वाचनको लागी हामी धेरै अगाडी बढिसकेका छौँ । राजनीतिक दलहरू, निर्वाचन आयोग, सुरक्षा निकाय, सरकारको जुन खालको तयारी छ, यसले मुलुक निर्वाचनमा गएको भन्ने निष्कर्ष निकाल्न सकिन्छ । सर्वोच्च अदालतमा पेस भएको मुद्दामा अदालतले बोल्दिनुपर्थ्यो । कोर्ट अफ ल ले चाहिँ ईस्यू आइसकेपछि त्यसलाई एस अर नो के हो भन्ने विषयमा चाहिँ बोदिदिएको भए हाम्रो न्यायालयको महत्त्व र गरिमा बढ्ने थियो । निर्वाचन चाहिँ हुने भयो, मलाई के लाग्छ भने हिमाली क्षेत्रमा चाहिँ दोस्रो चरणमा निर्वाचन हुने ढंगले सरकार जानुपर्छ भन्ने परिस्थिति निर्माण हुनसक्छ । त्यो बाहेक अरू खालका सुरक्षा चुनौतीहरूले निर्वाचन रोकिने अवस्था छैन । अलि अलि हिंसाहरू र चुनौतीहरू त भई नै हाल्छ । बङ्गलादेशमा हेर्नुस्, त्यहाँको अगस्त २०२४ मा भएको हिंसा र त्यसपछि आएको अन्तरिम सरकारले दुई वर्षसम्म पनि निर्वाचन गर्न सकेन । तर हामी जेन–जीको जुन आन्दोलन भयो, भदौको २३ र २४ मा । त्यसपछाडि हामी अहिले जुन ढंगले निर्वाचनमा गरिरहेको छौँ, हाम्रो संविधान अनुसार नै नयाँ र पुराना शक्तिहरू आईराख्दा हामी शान्तिपूर्ण समाजमा छौँ । त्यसले गर्दा चुनाव हुँदैन की भन्ने शंकाबाट अब मुलुक अगाडी बढिसक्यो ।’

उनले निर्वाचनपछि आउने परिणाम भने मिश्रित हुने हुँदा जेनजी आन्दोलनमा उठेका मुद्दाहरू सम्बोधन गर्न नसकिने बताए । उनले हालको निर्वाचन प्रणालीले एउटै राजनीतिक दलले बहुमत ल्याउन नसक्ने उल्लेख गरे । उनले बहुमत ल्याउन नसक्दा आफ्ना घोषणापत्र लागू गर्न पनि दलहरूलाई समस्या भएको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 10 =