सरकारले कुनैपनि निकायमाथि अवाञ्छित दबाब दिएको छैन: प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी तथा सार्वजनिक निकाय तथा नियमनकारी संस्थामाथि कुनैपनि किसिमको अवाञ्छित दबाब नदिएको दाबी गरेकी छन् ।
राष्ट्रिय सभाको सोमवारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सो दाबी गरेकी हुन् ।
अन्तरिम सरकारले मितव्ययितालाई उच्च प्राथमिकता दिएकै कारण स्रोत साधनको दुरुपयोग धेरै हदसम्म नियन्त्रणमा आएको उनको भनाइ छ । उनले सरकारी तथा सार्वजनिक निकायहरूले पूर्ण रूपमा व्यावसायिक स्वतन्त्रताका साथ कानुनअनुसार काम गरिरहेको स्पष्ट पारिन् ।
उनले सार्वजनिक संस्थाहरूले स्वतन्त्र रूपमा काम गर्न पाएको परिणाम देखिन थालेको पनि दाबी गरिन् । प्रधानमन्त्री कार्कीले सुशासन कायम गर्न अब कुनैपनि नागरिक सडकमा आउनुपर्ने अवस्था नआओस् भन्ने दिशामा सबै पक्ष सधैँ सचेत हुनुपर्नेमा जोड दिइन् ।
उनले भनिन् ‘यो सरकार गठन भएपछि मितव्ययितालाई हामीले प्रमुखताका साथ अङ्गीकार गर्यौँ । तसर्थ स्रोतसाधनको दुरुपयोग धेरै हदसम्म रोकिएको छ । हामीले अनावश्यक सुविधा लिएका छैनौँ । सार्वजनिक निकाय र नियमनकारी संस्थाहरूले कानुनबमोजिम गर्ने काममा कुनै प्रकारको अवाञ्छित दबाब दिएका छैनौँ । पूर्णरुपमा व्यावसायिक स्वतन्त्रताका साथ ती निकायहरूले काम गरिरहेका छन् । त्यसका केही परिणाम अहिले देखिएका छन् । केही दीर्घकालमा देखिने गरी हामीले जग बसालेका छौँ । र यस वर्षका घटनालाई पाठको रूपमा लिँदै आगामी दिनमा कसैले पनि स हुनुपर्दछ । यसका लागि सत्ताको मोहमा मग्न हुने होइन, विधिको शासनप्रति हाम्रो निष्ठा अटुट हुनुपर्दछ ।’
उनले राजनीतिक दलहरू सत्ताको मोहमा मग्न नभई विधिको शासनप्रति अटुट निष्ठाका साथ काम गर्नुपर्नेमा जोड दिइन् ।








