मतदाताले घोषणापत्रका आधारमा उम्मेदवारको छनोट गर्नुपर्छ: महामन्त्री पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमा आवधिक निर्वाचन घोषणापत्र–केन्द्रित प्रतिस्पर्धात्मक प्रणालीमा हुनुपर्ने बताएका छन् ।

आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा उनले नेपालमा हालसम्म घोषणापत्रको आधारमा निर्वाचन केन्द्रित हुन नसकेको बताएका हुन् ।

उनले नेपालको राजनीतिक दल र मतदाता दुवैले घोषणापत्रको आधारमा उम्मेदवार छनौट गर्ने प्रणालीको विकास नै गर्न नसकेको उनको भनाई छ । महामन्त्री पौडेलले व्यक्तिको अनुहार, पद वा हैसियतका आधारमा उम्मेदवार छनोट गर्ने प्रवृत्ति रहेको उल्लेख गरे । उनकाअनुसार उम्मेदवारको छनोट वा मतदान घोषणापत्रका आधारमा हुनुपर्छ । उनले नीति–केन्द्रित प्रतिनिधि छनोटका लागि मतदाता पनि सचेत हुन आवश्यक रहेको बताए ।

राजनीतिक दलहरूले पनि त्यसैअनुसार आफ्ना कार्यक्रम र प्रतिस्पर्धालाई केन्द्रित गर्नुपर्नेमा उनले जोड दिए । महामन्त्री पौडेलले राजनीतिक दलहरूबीचको प्रतिस्पर्धा एक–अर्कालाई गाली गरेर नभई ठोस मुद्दा र कार्यक्रम प्रस्तुत गरेर हुनुपर्ने उल्लेख गरे । मर्यादित र मुद्दा–आधारित प्रतिस्पर्धात्मक प्रणाली विकास गरेमा मतदाताले कार्यक्रमकै आधारमा मतदान गर्ने उनको विश्वास छ ।

उनकाअनुसार नागरिकले नेतृत्वबाट खोजिरहेको मुख्य कुरा स्पष्ट आर्थिक अवधारणा र दृष्टिकोण हो । उनले वर्तमान राजनीतिको मुख्य एजेण्डा आर्थिक क्षमता वृद्धि रहेको पनि बताए । उनले आर्थिक दृष्टिकोण नयाँ बनाउने प्रयास भइरहेपनि अपेक्षित सफलता हासिल हुन नसकेको स्वीकार गरे ।

उनले भने ‘आर्थिक विषय, आर्थिक क्षमता वृद्धि गर्ने विषय नै आजको हाम्रो राजनीतिको प्रदान विषय हो । अब हामीले प्रतिस्पर्धा गर्ने एक अर्कालाई गाली गरेर होइन । राम्रा आर्थिक मुद्दा ल्याएर प्रतिस्पर्धा गर्ने कुरा चाहिँ उपयुक्त हो । त्यसैले यो मर्यादित प्रतिस्पर्धालाई स्थापित गर्नको निम्ति मुद्दामा आधारित भएर प्रतिस्पर्धात्मक प्रणालीलाई विकास गर्नुपर्छ । मेरो कार्यक्रम भन्दा अरू कसैको कार्यक्रम राम्रो भयो भने आम नागरिक मतदाता विवेकी हुनुहुन्छ, उहाँहरूले कार्यक्रमका आधारमा मतदान गर्ने हो । त्यसैले आज नागरिकलाई चाहिएको कुरा नै नेतृत्वको आर्थिक अवधारणा हो, आर्थिक दृष्टिकोण हो । आर्थिक दृष्टिकोण नयाँ बनाउने प्रयत्न नभएको होइन, तर सफलता हासिल भइरहेको छैन । अब खासगरि निर्वाचनहरूमा दलहरूले प्रतिस्पर्धा गर्ने घोषणापत्रको आधारमा हो, त्यो अभ्यासलाई हामीले गम्भीर ढङ्गबाट विकसित गर्न सकिरहेका छैनौँ । घोषणापत्र केन्द्रित प्रतिस्पर्धात्मक प्रणालीलाई विकास गर्न सकिरहेका छैनौँ । वास्तवमा लोकतन्त्रमा यो आवधिक निर्वाचनहरू घोषणापत्र केन्द्रित प्रतिस्पर्धात्मक प्रणाली अगाडी बढाइनुपर्छ । व्यक्तिको अनुहार कस्तो छ रु त्यसको उचाइ कत्रो छ रु त्यो कुन पदमा थियो, छ भन्ने आधारमा उम्मेदवार छनौट गर्ने होइन । उसले ल्याएको घोषणपत्रको आधारमा उम्मेदवार छनौट गर्ने अथवा मतदान गर्ने हो भन्ने मलाई लाग्छ । त्यसैले नितिकेन्द्रित प्रतिनिधिको छनौटलाई हामीले विकसित गर्नको निम्ति अब मतदाताहरू नि त्यतिकै सचेत हुनुपर्छ । राजनीतिक दलले पनि त्यतैतिर केन्द्रित गरेर मात्रै आफूलाई प्रतिस्पर्धामा उतार्नुपर्छ । यो पक्षमा हाम्रो एकदमै कमजोरी भइरहेको स्थिति छ । हामीले जुन ढङ्गबाट यो विषयलाई विकसित गर्नुपर्ने थियो त्यो ढङ्गबाट गर्न सकेनौँ । त्यसकारण हाम्रो लोकतन्त्रभित्र धेरै गुनासाहरू छन् ।’

उनले राजनीतिक दलहरूको कार्यान्वयनमुखी घोषणा पत्र बनाउनुपर्ने बताए । उनले नेपाली काँग्रेसले गर्नसक्ने कामहरूलाई मात्रै समावेश गरेर घोषणापत्र तयार गर्न लागेको जानकारी दिए । सुशासन, रोजगारी र आर्थिक विकास काँग्रेसको मुख्य एजेण्डा हुने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 3 =