विद्युत खपतको एजेण्डा अब दलहरूले लिनुपर्छ: गणेश कार्की

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत उत्पादन बढ्दै गएपनि खपत कसरी गर्ने भन्ने योजना राज्यसँग नभएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौँमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेण्डा’ कार्यक्रम सुझाव दिँदै अध्यक्ष कार्कीले विद्युत निर्यात गर्न निजी क्षेत्रलाई दिनुपर्ने बताए ।
दलहरूले उत्पादित विद्युत निर्यात, खपत तथा व्यापारमा भएका नीतिलाई सुधार गर्ने प्रतिबद्धता गर्नुपर्ने र कार्यान्वयनमा जोड दिनुपर्ने कार्कीको भनाइ छ ।
अध्यक्ष कार्कीले भने ‘विद्युत उत्पादन मात्र गरेर हुँदैन खपतका योजना चाहिन्छ । निजी क्षेत्रले उत्पादन गरेको विद्युत नेपाल विद्युत किनिदिने व्यवस्था गर्नुपर्छ, नत्र लाइसेन्स फिर्ता दिने व्यवस्था गर्नुप¥यो । निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिनुपर्यो । निजी क्षेत्रको सुरक्षाका लागि नीति बनाउनुपर्यो ।’
कार्यक्रम नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्ले युवा शक्तिलाई नेपालमै राख्नका लागि पार्ट टाइम जबको व्यवस्था हुनुपर्ने बताए । उनले मुलुकमा आयात चुलिएको बताउँदै कृषिलाई दलहरूले प्राथमिकतामा राखेर कुनैपनि जमिन बाँझो नराख्ने नीति दलहरूले लिनुपर्ने बताए ।
पूर्वअध्यक्ष मल्लले भने ‘भारतले २ सय बिलियन आइटी निर्यात गरिरहेको बताउँदै आइटी गाउँसम्म पढाउने नीति अब लिनुपर्छ । वनजंगल क्षेत्र सदुपयोग नभएको बताउँदै काठहरू आयात गर्नुपर्ने अवस्था अन्त्य गर्ने नीति दलहरूले लिनुपर्छ ।’
उनकाअनुसार गाँजालाई औद्योगिक प्रयोजनका लागि सहज बनाउनुपर्छ भने अब सरकारी सेवामा चुस्तदुरुस्त हुनुपर्नेमा समेत जोड दिए ।








