देव गुरुङको प्रश्न: आसन्न निर्वाचन प्रायोजनको उद्देश्य के हो?

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङले आगामी निर्वाचनको प्रायोजनमा प्रश्न उठाएका छन् ।
आइतबार एक कार्यक्रममा बोल्दै उनले यो निर्वाचन दलहरूलाई पुनः स्थापित गर्नका लागि हो कि अरू कुनै शक्तिलाई स्थापित गर्न वा राष्ट्रिय स्वाधीनतालाई कमजोर पार्ने खेलका लागि हो भन्ने आशंका व्यक्त गरेका हुन् ।
भदौ २३–२४ गतेका घटनापछि संसद विघटन गरी घोषणा गरिएको आगामी निर्वाचनको प्रायोजन र वास्तविक उद्देश्यमा प्रश्न उठाए । उनले यो निर्वाचन दलहरूको पुनरुत्थानका लागि नभएको आशंका उब्जिएको बताए ।
आगामी निर्वाचन अन्य शक्तिलाई स्थापित गर्न वा नाममात्रका दल खडा गरेर मुलुकको स्वाधीनतालाई कमजोर पार्ने खेल हुनसक्ने आशंका व्यक्त गरे । भदौ २३ गतेका शुरुवाती मागहरू सकारात्मक देखिए पनि २४ गतेको विध्वंसात्मक घटनाले संविधान निष्क्रिय भएको, दलहरू पर्यवेक्षकमा सीमित भएको र ‘जेनजी’ को नाममा निर्दलीय सरकार चलेको उनको भनाइ छ ।
उनले पपुलिजमको आधारमा देश गए राष्ट्रिय अस्मिता नै सकिने र नेपाल द्वन्द्वग्रस्त क्षेत्रतर्फ जान सक्ने चिन्ता पनि व्यक्त गरे । उनले दलीय प्रणाली पुनः क्रियाशील हुनेमा आशावादी रहेको बताए । अहिले नियमित निर्वाचन नभएकाले यसलाई विशेष महत्वका साथ हेर्नुपर्नेमा उनको जोड छ ।
उनले भने, ‘भदौ २३ र २४ को परिघटनालाई हेर्ने हो भने २३ गतेको सुरुवातको मागहरू सकारात्मक देखिएको भए पनि २४ गतेको विध्वंशको घटना मुलुकको इतिहासमा गम्भीर प्रकृतिको हो । त्यसले यतिखेर एक प्रकारले भन्दा संविधान क्रियाशील छैन । निष्क्रिय छ । संविधान लागू भएको छैन । दलहरू यति बेला पर्यवेक्षकको रूपमा मात्रै छ । दलहरूको शासन छैन । जेनजीको नाममा निर्दलीय प्रकारको सरकार छ । दलहरूको भूमिका छैन । निर्वाचन गरिदिए दलहरू सहभागी हुने हो । अन्यथा दलहरूको भूमिका छैन । दलीय व्यवस्था र लोकतान्त्रिक प्रणाली एक प्रकारको गम्भीर संकटको संघारमा छ । यो लोकतान्त्रिक प्रणाली पुनः क्रियाशील हुन्छ की हुँदैन, दलीय प्रणाली पुनः क्रियाशील हुन्छ की हुँदैन त ? यहाँ केही कन्ट्रोभर्सी देखिन्छ, एकातर्फ दलीय प्रणालीअन्तर्गतको संसद थियो, तर त्यसलाई विघटन गरिएको छ, अर्कोतर्फ चुनाव गर्ने भनिएको छ । आखिरमा चुनाव गर्ने र दलहरूले पावर ल्याउने हो भने हिजो पनि दलीय प्रणाली थियो, संसद थियो । संसद हुँदाहुँदै त्यसलाई विघटन गरेर निर्वाचनको प्रक्रियाबाट जो गएको छ, यो निर्वाचनको प्रायोजनको उद्देश्य के हो भन्नेकुरा प्रश्न उठेको छ । यसको प्रायोजन, यसको उद्देश्य दलहरूलाई पुनः स्थापित गर्ने हो की होइन भन्ने प्रश्न छ । निष्पक्ष, स्वतन्त्र ढंगले निर्वाचन भयो भने त दलहरू पुनः स्थापित हुन्छन्, त्रिशंकु होला वा सानो ठूलो रूपमा आउलान् । यदि निर्वाचनबाट अर्कै शक्ति स्थापित गर्न खोजिएको हो भने, राजनीतिक दलहरू स्थापित गर्न खोजिएको होइन भने र राजनीतिक दलको नाममा नाम मात्रैको दलहरू खडा गरेर मुलुकको स्वाधीनतालाई कमजोर पार्ने प्रकारका खेलहरू त होइन भन्ने आशंका छ । ’
नेता गुरुङले पपुलिजमको आधारमा देश गए राष्ट्रिय अस्मिता नै सकिने टिप्पणी गरे । नेपाल द्वन्द्वग्रस्त क्षेत्रको दिशामा जान लागेको बताए । राजनीतिक दलीय प्रणाली पुनः क्रियाशील हुनेमा आफूहरू आशावादी रहेको बताए । अहिले नियमित प्रकारको निर्वाचन नभएकाले यसलाई विशेष महत्वका साथ हेर्न जरुरी रहेको बताए ।








