काँग्रेसले नेतृत्व मात्रै होइन, सोच, संकल्प र शैली बदलेको छ: गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले काँग्रेसले केवल नेतृत्व मात्र परिवर्तन नभई सोच, संकल्प, शैली र काम गर्ने तरिका पनि परिवर्तन गरेको बताएका छन् ।

शनिवार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ पार्टी कार्यकर्ताहरूसँगको भेटघाटका क्रममा नेतृत्वसँगै नीतिमा पनि परिवर्तन गरेको बताएका हुन् ।

उनले देश परिवर्तन गर्छु भन्नेले पहिला आफू परिवर्तन हुनुपर्ने बताए । देश बदल्नले औजार बदलिएमा मात्रै बदलिएको औजारले नयाँ परिणाम दिनसक्ने उनको भनाई छ । उनले आफूहरूले काँग्रेसभित्र जोखिम उठाएर पार्टीलाई रूपान्तरण गर्ने संकल्प गरिएको र त्यो सफल भएको बताए । सभापति थापाले अब काँग्रेसको कार्यशैली, नीति तथा त्यसबाट आउने परिणाम समेत नयाँ हुने दाबी गरे ।

उनकाअनुसार पार्टीले नागरिकको आह्वानलाई आत्मसात् गरेको छ । विशेषगरी देश परिवर्तनको मागसहित सडकमा उत्रिएका नवयुवा तथा जेन–जी पुस्ताको भावनालाई काँग्रेसले सम्मानपूर्वक ग्रहण गरेको उनको दाबी छ ।

उनले भने ‘देश बदल्छु, देश बदलिनुपर्छ, देश बलियोस् भन्नको लागी त्यो बदल्ने जिम्मेवारी लिएको औजार पहिला आफैँ बदलिनुपर्छ । त्यो औजार बदलियो भने मात्रै बदलिएको औजारले बल्ल नयाँ परिणाम दिनसक्छ । त्यसैले नेपाली काँग्रेस भित्र हामीले एउटा जोखिम उठायौँ, एउटा संकल्प गर्‍यौँ । हामी पहिलो यो औजार बदल्छौँ । नेपाली काँग्रेस पार्टी हामीले बदलेर आज देश र नागरिकको बीचमा उभिएका छौँ । बदलिनु भनेको के हो ? काँग्रेस पार्टीको नेताको अनुहार बदलियो, त्यसकारणले काँग्रेस बदलियो, होइन । अनुहार बदलिएको कुरा सामान्य प्रक्रियाको कुरा हो । अनुहार बदलिएको होइन, नेपाली काँग्रेसले आजको दिनमा यसको सोच बदलिएको छ, यसको संकल्प बदलिएको छ । अब यसको शैली बदलिन्छ । अब यसको काम बदलिन्छन् । यसले दिने परिणाम पनि बदलिएर नयाँ आउँछ । नेपाली काँग्रेस पार्टीले नागरिकको आह्वानलाई स्वीकार गर्यो । खासगरि जेन—जी हामी भन्छौ, नवयुवाहरू जो सडकमा आए, जसले देश बदलिनुपर्छ भन्ने भाव व्यक्त गरे । त्यो भावलाई यसले लियो, टिप्यो, सम्मान गर्यो, ग्रहण गर्यो । आज नयाँ सोचका साथ, नयाँ सङ्कल्पका साथ, नयाँ जोसका साथ, नयाँ योजनाका साथमा उभिएको छु भनेर काँग्रेस उभिएको छ ।’

नयाँ सोच, संकल्प, जोस र योजनासहितको काँग्रेसले देशलाई पनि सोहीअनुसार अगाडी बढाउने बताए । उनले काँग्रेसले प्रजातन्त्र, सामाजिक न्याय, समावेशिता, नागरिकको सम्मुनति, सुशासन र पारदर्शिताका विषयलाई अझ दह्रोसँग बोक्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 14 =