काठमाडौं ४ का कांग्रेस उम्मेदवार सचिन भन्छन्- राम पाँच वर्ष मिसनमा गएका छन्, भरत बनेर अयोध्या सम्हाल्छु

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सचिन तिमल्सिनाले रोजगारीको अवसर सिर्जना र युवाहरूलाई उद्यमशीलतामा नजोडेसम्म युवाहरू विदेश पलायन हुनबाट नरोकिने बताएका छन् ।
शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का कार्यकर्ताहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले रोजगारी नपाएर विदेश जानुपर्ने अवस्था नआओस् भन्नेमा मिहिनेतका साथ आफूले काम गर्ने प्रतिबद्धता जनाए । उनले युवा रोजगारीमा विशेष काम गर्ने बताए । उनले यसअघि सोही क्षेत्रबाट निर्वाचित गगनकुमार थापा विशेष कारणले मिसनमा गएको टिप्पणी गर्दै अबको पाँच वर्ष आफूले भरत बनेर अयोध्यारूपी निर्वाचन क्षेत्र नम्बर ४ लाई सम्हाल्ने जिकिर गरे । उनले प्रतिनिधि सभाको निर्वाचनमा विजयी भएर प्रतिनिधि सभा छिर्दै गर्दा गगन थापालाई देशको प्रधानमन्त्री बनाउने महाअभियानको सबैभन्दा दरिलो मियोको रूपमा आफू उभिने बताए ।उनले
भने, ‘म सबैलाई साक्षी राखेर भन्न चाहन्छु । यो क्षेत्र अयोध्या हो । राम मिसनमा गएका छन् । भरतको रूपमा ५ वर्ष यो क्षेत्रलाई सम्हाल्नेछु । अब आउने प्रतिनिधि सभाको चुनावमा विजयी भएर प्रतिनिधि सभा छिर्दै गर्दा गगन थापालाई देशको प्रधानमन्त्री बनाउने महाअभियानको सबैभन्दा दरिलो मियोको रूपमा म उभिनेछु । काठमाडौं क्षेत्र नम्बर ४ ले यो देशलाई सबैभन्दा सक्षम, अब्बल सांसद दिएको छ । खानेपानीका समस्याहरू लगायतका यावत् कुरामा म लाग्नेछु, विकास निर्माणमा मेरो ध्यान हुनेछ । रोजगारीको अवसर सिर्जना र युवाहरूलाई उद्यमशीलतामा नजोड्ने हो भने युवाहरू नेपालमा बस्नेवाला छैनन् । म मेरो क्षेत्रमा युवा रोजगारीमा विशेष काम गर्नेछु । रोजगारी नपाएर विदेश जानुपर्ने अवस्था नआओस् भन्नेमा मिहिनेतका साथ काम गर्नेछु ।’
उम्मेदवार तिमल्सिनाले युवाहरूलाई उद्यमशीलतामा जोड्न आफूले काम गर्ने बताए । पहिलो पटक व्यापार गर्ने नवयुवाहरूलाई दुई वर्षको कर माफ गर्ने किसिमको कानुन बनाउने दाबी गरे ।








