प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी कम्युनिष्ट आन्दोलनको कुरूप चित्र हो : विप्लव

काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कम्युनिष्ट आन्दोलनको कुरूप चित्र भएको टिप्पणी गरेका छन् ।

सो पार्टीको केन्द्रिय समितिको आकारले सिंगो कम्युनिष्ट पार्टीको बद्नाम गरेको पनि महासचिव विप्लवको जिकिर थियो ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले समाजवादी मोर्चामार्फत सबै कम्युनिष्ट पार्टीलाई एकताबद्ध गरेर लैजाने सहमतीबाट भागेर प्रचण्डले सो पार्टी बनाएको आरोप समेत लगाए ।

महासचिव विप्लवले धेरै मानिस जम्मा गरेर कम्युनिष्ट ठूलो भयो भन्ने ठान्नेहरूसँग आफूहरूको एकता हुन नसक्ने पनि बताए ।

उनले भने, ‘समाजवादी मोर्चामा पनि हामी बस्यौँ । एकता होस् भनेर हामीले अस्ती अन्तिम समयसम्म पनि प्रयत्न गर्‍यौँ । तर बाहिर हल्ला के गरियो भने नेकपा (माओवादी) र विप्लवहरू चाहिँ एकतामा आएनन् । पछि हटे । त्यो कुरा झुटो कुरा हो । लामो छलफल पछि हामीले के भनेका छौ भने–कमरेड प्रचण्डहरू एकताबाट भाग्नुभएको हो । प्रचण्डको नेतृत्वमा समाजवादी मोर्चा क्रान्तिकारी मोर्चाको मान्यता, मर्म र उद्देश्यबाट भागेको हो । भागेर उहाँहरूले पार्टी त बनाउनु भएको छ । तर त्यो पार्टी जस्तो छैन । त्यो मोर्चा जत्तिको पनि छैन । अहिले त्यो पार्टी हेर्नुभयो भने २५ सय, ३ हजारको केन्द्रिय सदस्य । यो कम्युनिष्ट आन्दोलनको हुर्मत लिनेकुरा हो । यो बेइजत गर्ने, बद्नाम गर्ने कुरा हो । त्यो के सम्भव हुने कुरा हो ? धेरै मानिस जम्मा भएर कम्युनिष्ट पार्टी ठूलो हुने हो ? आफूले विकास गरेको विचारमा आफैँ उभिन नसकेपछि, आफूले रचेको इतिहासको आफैँले रक्षा गर्न नसकेपछि बडो कुरूप चित्र आन्दोलनमा पैदा हुँदो रहेछ भनेर देख्यौ नि ।’

महासचिव विप्लवले निर्वाचनको प्रचार अभियानका क्रममा आफू देश दौडाहामा निस्कने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 9 =