दलहरूले संविधानअनुसारको समावेशिता व्यवहारमा कार्यान्वयन गर्न सकेनन्: विशाल भट्टराई

काठमाडौँ । राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्र र समावेशिता अझै कमजोर रहेको सरोकारवालाहरूले औँल्याएका छन् ।
बुधवार काठमाडौँमा आयोजित ‘राजनीतिक दलमा आन्तरिक लोकतन्त्र र समावेशिताको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले यस्तो धारणा राखेका हुन् ।
संविधानमा व्यवस्था भएअनुसारको समावेशिता राजनीतिक दलहरू ले व्यवहारमा कार्यान्वयन गर्न नसकेको उनीहरूको भनाइ छ । कार्यक्रममा बोल्दै नेकपा (एमाले) का नेता विशाल भट्टराईले आफ्नो पार्टीले केन्द्रीय कमिटीमा ३६ प्रतिशत महिला सहभागिता सुनिश्चित दाबी गरे ।
विधानले तोकेको ३३ प्रतिशतको सीमाभन्दा माथि महिलाको प्रतिनिधित्व गराइएको उनको जिकिर छ । यद्यपि नेपाली राजनीतिक दलहरूमा अपेक्षित स्तरको समावेशिता कायम हुन नसकेको उनको स्वीकारोक्ति छ ।
उनले संविधानअनुसार सबै राजनीतिक दलहरूले वर्गीय र जातीय समावेशितामा काम गर्दै पार्टीको आन्तरिक लोकतन्त्रलाई थप बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने ‘यस पटक हामीले पार्टीको केन्द्रीय कमिटीमा ३६ प्रतिशत महिलाहरूको सहभागिता गराएका छौँ । विधानले तोकेको व्यवस्थामा ३३ प्रतिशत बाध्यकारी छ । तर हामीले त्यसलाई ३६ प्रतिशत पुर्याएका छौँ । र आसन्न निर्वाचनको लागि टिकट वितरणमा पनि हामीले समावेशितालाई ख्याल गरेका छौँ । प्रत्यक्षतर्फ पनि हामीले राम्रै सहभागितामा उम्मेदवार उठाएका छौँ । समानुपातिकमा पनि विद्यमान कानूनबमोजिम हामीले समावेशी बनाएका छौँ । तर नेपालको राजनीतिक दलहरूमा समग्रतामा हुनुपर्ने समावेशिता चाहिँ छैन । त्यो कुरा म स्वीकार गर्दछु ।’
प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता डा। जनक साहले पुरानो राजनीतिक संरचनामा रूपान्तरण नगरेसम्म जनताको अपेक्षा पुरा हुन नसक्ने बताए ।
उनले नेपालका सबैजसो राजनीतिक दलहरूमा पुनःसंरचना आवश्यक रहेको बताए । उनले दलहरू पूर्ण समावेशी तथा रूपान्तरित नभएसम्म लोकतन्त्र सुदृढ हुन नसक्ने धारणा राखे । दलहरू पुरानै संरचनासहित अघि बढे जनभावना, युवा आकांक्षा र समृद्धिको लक्ष्य पूरा हुन नसक्ने उनको भनाइ छ ।
उनले भने ‘हामीले पुरानो राजनीतिमा रूपान्तरण आवश्यक छ भनेर धेरै वर्ष अगाडि भन्न थालेका हौँ । नेपाली राजनीतिको धेरै किसिमले पुनःसंरचना गरिनुपर्छ । यदि पुरानै संरचनासहित नेपालको राजनीति अघि बढ्यो भने त्यसले आम जनता र युवाहरूको भावना र मुलुकको समृद्धिको आवश्यकतालाई पूरा गर्न सक्दैन । त्यसैले राजनीतिक दलहरू आन्तरिक रूपमा रूपान्तरित हुनुपर्छ ।’
कार्यक्रममा राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले संविधान कागजमै सीमित हुँदा दलित समुदायले अझै लोकतन्त्रको अनुभूति गर्न नसकेको बताए । उनले दलित समुदाय वर्गीय र जातीय उत्पीडनमा रहेको उल्लेख गर्दै समावेशिता घोषणापत्रमा मात्र नभई कार्यान्वयनमा देखिनुपर्नेमा जोड दिए ।
उनले भने ‘कागजमा लेखेर हुन्छ समावेशी रु यति राम्रो संविधान दुनियाँमा कही पनि छैन । अहिले पनि दलित समुदायले लोकतन्त्रको महसुस गर्न पाएको छैन । कुन समुदाय कति उत्पीडनमा छ भन्ने कुरा राम्रोसँग थाहा छ । वर्गीय उत्पीडनमा त हामी सबै छौँ । तर दलित थप जातीय उत्पीडनमा छ । उहाँहरूको मुद्दा चुनावी घोषणापत्रमा लेखेर मात्र होइन कार्यान्वयन समेत गरेर जानुपर्छ । जलवायु परिवर्तन पनि अहिलेको मुख्य एजेण्डा हो । राजनीतिक दलहरूले चुनावी एजेण्डा बनाएर यो विषयलाई अगाडि बढाउनुपर्छ ।’
उनले जलवायु परिवर्तनलाई पनि राजनीतिक दलहरूको प्रमुख चुनावी एजेण्डा बनाउनुपर्ने आवश्यकता औँल्याए ।








