उद्यमी बन्ने की जागिर खाने ? युवा उमेरमै निर्धारण गर्नुस्: श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले उद्यमी बन्ने की जागिर खाने भन्नेबारे युवा उमेरमै निर्धारण गर्न आग्रह गरेका छन् ।

मङ्गलवार दोस्रो राष्ट्रिय सहकारी युवा सम्मेलनलाई सम्बोधन गर्दै उनले चाहनाअनुसारको पेसालाई युवा अवस्थामा निर्धारण गर्दा सफल हुने सम्भावना बलियो रहेको बताए ।

उनले सरकारी जागिरमा एकदमै प्रतिस्पर्धा हुने र उद्यामशीलतामा जाँदा पनि कडा मेहनत भने गर्नुपर्ने बताए ।

योजना आयोगका उपाध्यक्ष श्रेष्ठले भने ‘हामी उद्यमी हुने की जागिरमै जाने युवा अवस्थामै निर्धारण गर्नुपर्छ । आफ्नो चाहना के छ, त्यता तिर जानुपर्छ । सरकारी जागिरमा एकदमै प्रतिस्पर्धा हुन्छ । उद्यमशीलता तिर जाँदा पनि कडा मेहनत गर्नुपर्ने हुन्छ । अल्छी मानेर बसेर हुँदैन । समय, लगावले सफल उद्यमी भइन्छ । उद्यमी सफल हुँदा धेरै कमाएको पनि हामीले देखिरहेका छौँ । जागिर तिर जाँदा जीवन पाल्ने काम हुन्छ । खासै आर्थिक हिसाबले प्रगति नहुन सक्छ । त्यसैकारण सकेसम्म युवाहरू उद्यमी हुन खोज्नुभयो भने धेरै राम्रो हुन्छ ।’

श्रेष्ठले उद्यमी हुन युवाहरूलाई सुझाव दिँदै त्यसले आर्थिक अवस्थामा ठुलो सुधार आउने बताए । उनले सफलताका लागि प्रविधिमा अभ्यस्त हुन समेत युवाहरूलाई अनुरोध गरे ।

अहिले छिटोछरितो प्रविधिमा परिवर्तन आएको बताउँदै श्रेष्ठले अब त्यसमा अभ्यस्त हुनुपर्ने ठुलो चुनौती आएको समेत बताए । आफू १४÷१५ वर्षको हुँदासम्म प्रविधिबारे धेरै कुराहरूमा अनभिज्ञ रहेको स्मरण गर्दै उनले अहिलेका पुस्ता जन्मिँदै हाइटेक भएको निस्केको अनुभूति आफूले गरेको उनले बताए ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले विगतमा जोखिम क्षेत्र आकलन नगरी ऋण प्रवाह गर्दा सहकारीसंस्थाहरु धराशायी भएको बताए ।

उनले धितो नराखी लोनहरू दिनुका साथै वास्तविक सदस्य हो, त्यो भन्दा बाहिरको ठूलाठूला रकम बचतका रूपमा स्वीकार गरिँदा समेत समस्या आएको बताए । त्यस्तो रकम जो सञ्चालक छ उनीहरूको कम्पनीमा लगानी गरिँदा सहकारी संस्था डुबेको बताउँदै अब विगतबाट सिकेर अघि बढ्नुपर्ने बताए ।

सचिव भुजेलले भने ‘विगतमा सहकारीसंस्थाहरु जुन धराशायी भए, जोखिम क्षेत्र आङ्कलन गरिएन । धितो नराखी लोनहरू दिइयो । जो वास्तविक सदस्य हो, त्यो भन्दा बाहिरको ठूलाठूला रकम बचतका रूपमा स्वीकार गरियो । त्यस्ता रकम अन्यत्र अर्थात् जो सञ्चालक छ उनीहरूको कम्पनीमा लगानी गरियो, त्यसबाट सहकारी संस्था डुबे । अहिलेसम्मका अध्ययन प्रतिवेदनबाट पाइयो । सहकारी सञ्चालकहरू दोषी छन् । सहकारी सञ्चालक समाजमा सम्मानित मान्छेहरू छन् ।आर्थिक रूपमा पनि सम्पन्न छन्, अहिले उनी शिर निहुराएर हिँड्नुपरेको छ । मलाई कारबाही गरे पनि हुन्छ भनेर आइरहेका छन् । त्यस्तो देख्नुपर्दा अप्ठ्यारो लागिरहेको छ ।’

सचिव भुजेलले अब सहकारीहरू अनुशासनमा रहेर चल्नुपर्नेमा जोड दिए । उनले सहकारीहरूमाथि कडा नियमन गरेर अघि बढ्न आफूहरूलाई दबाब पनि परिरहेको बताए । धेरै बचतकर्ताको रकम डुबेकाले अब सहकारीहरूमाथि सरकारले नियमन बढाउने उनको भनाइ छ ।

मङ्गलवारबाट सुरु भएको दोस्रो राष्ट्रिय सहकारी युवा सम्मेलन बुधवारसम्म चल्ने आयोजक संस्थाले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + six =