बुद्ध एयरको काठमाडौँ–भरतपुर उडान नियमसम्मत
एटीआर–७२ जहाजको उडान स्वीकृति र सुरक्षा मापदण्डअनुसार

काठमाडौँ । देशकै अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले २०८२ जेठ ८ गते काठमाडौँ–भरतपुर रुटमा ७२ सिट क्षमताको एटीआर–७२ विमानको सफल परीक्षण उडान गर्यो ।
क्यानका उच्च अधिकारीहरूको उपस्थितिमा बुद्ध एयरले एटीआर–७२ विमानबाट सफल परीक्षण उडान गरेपछि नियमित उडान सञ्चालन भइरहेको छ ।
उक्त उडान नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को स्वीकृति, परीक्षण उडान तथा प्राविधिक मूल्यांकनपछि मात्रै सुरु गरिएको थियो । कम्पनी र नियामक निकायले सुरक्षा मापदण्डअनुसार बुद्ध एयरको सेवा विस्तार गरिरहेको हो ।
तर, पछिल्लो समय बुद्ध एयरले यात्रुको सुरक्षालाई जोखिममा पारेको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाइएको कम्पनीको दाबी छ । उडान अनुमति प्रक्रिया पूरा नगरी सञ्चालन गरिएको तथा नियामक निकायले चासो नदेखाएको जस्ता आरोप तथ्यहीन रहेको कम्पनीले जनाएको छ ।
कुनै पनि नयाँ विमान वा नयाँ रुटमा उडान सुरु गर्नु अघि नागरिक उड्डयन प्राधिकरणको स्वीकृतिमा परीक्षण उडान अनिवार्य हुन्छ । भरतपुर उडानको हकमा पनि जेठ ८ गते क्यानका उच्च अधिकारीहरूको उपस्थितिमा सफल परीक्षण उडान सम्पन्न भएको हो । यसले उडान सुरक्षाप्रति बुद्ध एयर र क्यान दुवै गम्भीर रहेको पुष्टि गर्ने बुद्ध एयरका एक अधिकारीले बताए ।
बुद्ध एयरले लामो समयदेखि ४२ सिट क्षमताको एटीआर–४२ विमानबाट भरतपुर सेवा दिँदै आएको थियो । यात्रुको बढ्दो माग, समय व्यवस्थापन र सेवा स्तरोन्नतिलाई ध्यानमा राख्दै समान एटीआरकै ७२ सिट क्षमताको विमान प्रयोग गरिएको हो ।
जानकारहरूका अनुसार एटीआर–७२ र एटीआर–४२ बीचको प्राविधिक संरचना, सञ्चालन प्रक्रिया र सुरक्षा प्रणाली मूलतः समान छन् । त्यसैले ठुलो जहाज प्रयोग गर्दा जोखिम बढ्छ भन्ने दाबी तथ्यसम्मत नरहेको उनीहरूको भनाइ छ ।
भरतपुर विमानस्थल संवेदनशील विमानस्थलको सूचीमा रहे पनि बुद्ध एयरले थप सावधानी अपनाएर मात्र उडान सञ्चालन गर्दै आएको जनाएको छ । कम्पनीका अनुसार अनुभवी क्याप्टेन, मौसमको निरन्तर निगरानी, भार सन्तुलन र सबै सुरक्षा मापदण्ड पालना गरेर उडान भइरहेको छ ।
यात्रु सुरक्षालाई प्राथमिकतामा राख्दै मौसम, धावनमार्ग अवस्था र प्राविधिक सीमाअनुसार यात्रु संख्या व्यवस्थापन गर्ने अभ्यास विश्वभर प्रचलित रहेको छ । बुद्ध एयरले पनि सोही अभ्यास गरिरहेको छ ।
नेपालको उड्डयन क्षेत्रमा दुर्घटनापछि मात्र होइन, दुर्घटना नहोस् भन्नका लागि पूर्व–जोखिम मूल्याङ्कन र नियमनलाई थप सुदृढ बनाउनु आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् । क्यान र वायुसेवा कम्पनीबिच निरन्तर समन्वय, निगरानी र सुधार प्रक्रिया अघि बढाउनुपर्ने उनीहरूको धारणा छ ।
भरतपुर विमानस्थल स्तरोन्नति सुस्त
पटक पटक संघीय बजेटबाट पारित भरतपुर विमानस्थलको रनवे लम्बाई बढाउने तथा रात्रिकालीन उडानका लागि थप पूर्वाधार जडान गर्ने भनिए तापनि काम हुन सकेको छैन ।
बजेटबाट विमानस्थल नजिक रहेको नेपाली सेनाको घोडा प्रजनन केन्द्र शक्ति खोर सार्ने कार्य पनि कार्यान्वयन हुन सकेको छैन ।
बाग्मती प्रदेशको राजधानी हेटौंडाबाट आधाउधी घण्टाको दुरीमा रहेको विमानस्थल समय सापेक्ष कार्य हुन सकेको छैन । जाडो मौसममा दिउँसो ४ बजे नै उडान सम्पन्न गर्नुपर्ने बाध्यता रहेको छ ।








