गगन थापाले भने- ‘म दुई लाइन रटेर चटके नाटक गर्दिनँ, भाषा सिकेरै मन जित्छु’

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले आफू केवल मत माग्नका लागि मात्र मधेशको माटोमा नआएको स्पष्ट पारेका छन् । मंगलबार सर्लाहीको बलरा नगरपालिकामा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यहाँका जनतासँग गहिरो भावनात्मक सम्बन्ध गाँस्न आफू चुनावी मैदानमा उत्रिएको बताएका हुन् ।
सम्बोधनका क्रममा थापाले परम्परागत राजनीतिक शैलीमाथि कडा प्रहार गरे । अन्य नेताहरू जस्तो चुनावका बेला हेलिकप्टरमा आउने, फोटो खिचाउने, हात हल्लाएर औपचारिकता निभाउने र चुनाव जितेपछि ‘छु-मन्तर’ भएर हराउने प्रवृत्ति आफूमा नरहेको उनले जिकिर गरे। उनले आफूलाई ‘पाहुना नेता’ को रूपमा नलिन समेत मतदातासँग आग्रह गरे ।
कार्यक्रममा सहभागी केही कार्यकर्ताले थापालाई स्थानीय भाषाका केही शब्द प्रयोग गरेर सम्बोधन गर्न सुझाव दिएका थिए । तर, थापाले सस्तो लोकप्रियताका लागि आफूले ‘नाटक’ नगर्ने स्पष्ट पारे । ‘मलाई साथीहरूले यहाँको भाषामा दुई लाइन बोल्नुपर्छ भन्नुभयो, तर म रातभरि रटेर एकछिनका लागि अभिनय गर्न चाहन्न,’ सभापति थापाले भने, ‘म यहाँको जनप्रतिनिधि भएपछि ६ महिना वा एक वर्ष समय लगाएर यहीँको भाषा सिक्छु, प्रत्येक मतदातालाई नामैले चिन्छु र यहीँको भाषामा फरर भाषण गर्ने हैसियत बनाएरै छाड्छु ।’
आफ्नो संसदीय अनुभव सुनाउँदै थापाले काठमाडौंमा गैर-नेवार भएर पनि त्यहाँको नेवार समुदायको संस्कृति, जात्रा र पर्वमा आफू पूर्ण रूपमा घुलमिल भएको स्मरण गरे । ‘मैले काठमाडौंमा जसरी सबैको विश्वास जितेँ, त्यसै गरी सर्लाहीका बासिन्दाले पनि मलाई आफ्नो घरको मान्छे, छोरा वा भाइ ठानेर स्वीकार गर्ने वातावरण बनाउनेछु,’ उनले भने ।
आफूलाई नौटङ्की र चटके कुरा गर्न नआउने भन्दै उनले सर्लाही-४ का जनताको जिम्मेवार अभिभावक बनेर काम गर्ने योजना सुनाए । चुनावी अभियानका लागि आफू तीन दिनसम्म यही क्षेत्रका घरदैलोमा बस्ने र काठमाडौंमा पार्टीको जरुरी काम सकेर पुनः यहाँका जनताको सेवामा फर्किने उनको भनाई छ ।








