प्रकाश सपुत रास्वपा प्रवेश, भने– अब निरास बनाउने छुट छैन

काठमाडौं । चर्चित गायक प्रकाश सपुत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
उनले खुला रूपमा राजनीतिमा प्रवेश गरेको जानकारी दिँदै आफू रास्वपा प्रवेश गरेको बताएका हुन् । उनी रास्वपाको समानुपातिक सूचीमा पनि समावेश छन् ।
सपुतले सामाजिक सञ्जालमा मार्फत् आगामी समयको आन्दोलन र लोकतान्त्रिक प्रक्रियामा खुलेर सरिक हुने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले शहिद, राजनीतिक दल तथा अग्रज नेताहरू प्रति कृतज्ञता व्यक्त गर्दै, सबै नेपालीको व्यक्तिगत राजनीतिक आस्था र विचारको सम्मान गर्ने बताए ।
सपुतले मतदाताको विश्वास फर्काउने र देशको सुधार र समृद्धिको यात्रामा सक्रिय भूमिका खेल्ने दाबी गरेका छन् । उनले भने, ‘अब ‘अन्तिम पटक’ म र म जस्तै आम नेपालीहरूले कुनै व्यक्ति वा शक्ति (दल) मा विश्वास गर्दैछन् । मैले मतदाताको मुहारमा अन्तिम आसा र उत्साह देखेको छु । अब तपाईहरुलाई निरास बनाउने छुट छैन ।’
उनले बडो दुःख, संघर्ष, मेहनत र धैर्यताले टिकाएको आफ्नो कला सिर्जना मार्फत रिझाएका दर्शकसँग हातेमालो गर्ने र नयाँ राजनीतिक शक्ति स्थापना गर्न खुलेर सहभागिता जनाउने निर्णय लिएको बताएका छन् ।








