पार्टी कब्जा भए पनि अवस्था सधैँ यस्तै रहँदैन: देउवा

काठमाडौं । नेपाली कांग्रेसको सभापतिबाट अपदस्थ भएका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले हठात् पार्टी कब्जा भएजस्तो अवस्था देखिए पनि यो सधैँ नरहने बताएका छन् । उनले अहिलेको कठिन समय बितेर जाने भन्दै कार्यकर्तालाई धैर्य गर्न आग्रह गरेका छन् ।

पत्नी डा. आरजु देउवा राणाको ६३ औँ जन्मदिनका अवसरमा महाराजगन्जस्थित निवासमा पुगेका सीमित नेता तथा कार्यकर्तासँग देउवाले वर्तमान अवस्था अस्थायी रहेको धारणा राखेका हुन् ।

आरजुलाई बुके दिएर फर्किएका एक तरुण दलका नेताले भने, ‘सबै सेटिङ मिलेर भित्रभित्रै पार्टी कब्जा होला भनेर उहाँले पनि सोच्नुभएको रहेनछ । सबै स्तब्ध भएको बेला एकाएक चुनावको टिकट बाँड्न हतार हुँदा चुनावअघि केही गर्ने अवस्था नै रहेन । उहाँले “अहिले यस्तै भयो, यो समय सधैँ यस्तै रहँदैन, चुनावपछि हेरौँला” भन्नुभयो ।’

देउवा आफैँ अन्तिम पटक डडेलधुराबाट चुनाव लड्न इच्छुक थिए भने उनकी पत्नी आरजु देउवा पनि कैलाली–५ बाट उम्मेदवार बन्ने तयारीमा थिइन् । तर सभापति गगन थापाले दुवैलाई टिकट नदिएपछि उनीहरू चुनावी प्रक्रियाबाट अलग भएर बसेका छन् ।

पार्टी फुटाउनु हुँदैन भन्ने मान्यताका कारण देउवाले पछिल्ला सबै घटनाक्रम चुपचाप सहेर बसेको उनीसँग भेटेका नेताहरू बताउँछन् । जन्मदिनका अवसरमा सीमित नेता–कार्यकर्ता देउवा निवास पुगेका थिए । सो अवसरमा देउवाले केक काटेर पत्नी आरजुलाई शुभकामना दिएका थिए ।

विशेष महाधिवेशनबाट गगन थापा सभापति बने पनि चाँडै नियमित महाधिवेशन गराउनुपर्ने भएकाले सबै राजनीतिक हिसाबकिताब त्यहीँ गर्ने रणनीतिमा देउवा पक्ष देखिन्छ । पार्टीका धेरैजसो सिनियर नेताहरूलाई बाहिर राखेर कांग्रेस चलाउन नसकिने उनीहरूको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 6 =