भन्सार प्रशासन वास्तविकतामा आधारित हुनुपर्छ: अर्थसचिव उपाध्याय

काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले भन्सार प्रशासन वास्तविकतामा आधारित हुनुपर्ने बताएका छन् ।
भन्सार प्रशासन जति वास्तविकतामा आधारित भयो उति नै राजस्वका क्षेत्रहरू पारदर्शी बन्दै जाने बताएका हुन् ।
पछिल्लो समय भन्सार प्रशासनमा ग्याट मूल्याङ्कनलाई अनलाइन प्रणालीमा आबद्ध गर्ने काम भएको भन्दै यो भन्सार प्रशासनका लागि ठुलो सुधार भएको उनले बताए ।
सोमवार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भन्सार प्रशासनलाई वास्तविक बनाउन भइरहेका पछिल्ला कार्यहरूले राजस्वमा सुधार आउने बताए ।
सचिव उपाध्यायले भने ‘पछिल्लो समयमा भन्सार प्रशासनमा ग्याट मूल्याङ्कनलाई अनलाइन सिस्टममा आबद्ध गर्ने, छिमेकी मुलुकसँग एमओयू गरेर जिएसटीको डेटाहरू एक्सचेञ्ज गर्ने काम भएको छ । भन्सार प्रशासनलाई वास्तविक, थप विश्वासिलो, पारदर्शी बनाउने र एकद्धार प्रणालीलाई भन्सार विभागले जुन हिसाबले अघि बढाएको यो धेरै राम्रो छ ।’
सचिव उपाध्यायले अन्तर भन्सारमा मूलयांकनमा रहेका विविधतालाई अनलाइन सिस्टममार्फत एकरूपता सिर्जना गर्नुपर्ने उनले बताए ।








