कुर्सी हटाएको होइन, स्तरोन्नति गर्न लगिएको हो : काठमाडौं महानगर

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को राजीनामाको विषयसँग जोडेर सडक पेटीका कुर्सी हटाइएको भन्दै विभिन्न भिडियो तथा टिप्पणीहरू भाइरल भइरहेका छन् । महानगरको नेतृत्व परिवर्तनको हल्लासँगै विकास निर्माणका संरचना हटाइएको भन्दै जनमानसमा आक्रोश र संशय पैदा भएपछि महानगरपालिकाले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

महानगरपालिकाले सामाजिक सञ्जालमा फैलिएका हल्लाको खण्डन गर्दै सिंहदरबार-भद्रकाली सडक खण्डका कुर्सीहरू सधैँका लागि हटाइएको नभई मर्मत सम्भार र व्यवस्थापनका लागि मात्र झिकिएको स्पष्ट पारेको छ । महानगरको सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईका अनुसार, सडक पेटीमा राखिएका फलाम र काठ मिश्रित कुर्सीहरू लामो समयको प्रयोगले जीर्ण बन्दै गएकाले तिनको मर्मत र रङरोगन सुरु गरिएको हो ।

‘हामीले पैदलयात्रीको सहजताका लागि ती कुर्सीहरू हटाउने होइन, बरु थप व्यवस्थित र एकरुपता कायम गर्ने योजना बनाएका छौँ,’ प्रमुख राईले भने, ‘अहिले देखिएको शून्यता मर्मत अवधिको लागि मात्र हो। पुराना कुर्सी मर्मत गर्ने र यात्रुको चाप बढी भएका स्थानमा थप कुर्सी राख्ने काम भइरहेको छ।

महानगरले सहरको सौन्दर्य र पैदलयात्रीको सुविधालाई ध्यानमा राख्दै उमेर समूह र शारीरिक अवस्था अनुकूल हुने गरी कुर्सीहरूलाई पुनः डिजाइन र व्यवस्थापन गर्न लागेको जनाएको छ । तथ्यांक अनुसार, २०८१ असोजयता महानगरका विभिन्न स्थानमा १४० वटा सार्वजनिक कुर्सी जडान गरिएका थिए, जसमध्ये भद्रकाली-सिंहदरबार खण्डमा ११ वटा कुर्सी थिए। यसबाहेक वाग्मती करिडोर, गुहेश्वरी, कोटेश्वर र कालमोचन लगायतका क्षेत्रमा पनि कुर्सी व्यवस्थापन भइरहेको छ ।

महानगरले आलोचनालाई चिर्दै आगामी योजना समेत सार्वजनिक गरेको छ । जसअनुसार दोस्रो चरणमा नापी विभाग, तीनकुने-कोटेश्वर खण्ड, रत्नपार्क, माइतीघर, बबरमहल र कमलपोखरी क्षेत्रमा थप ४९ वटा आधुनिक कुर्सी जडान गरिनेछ । त्यस्तै, तेस्रो चरणमा आवश्यकता र मागका आधारमा सहरका विभिन्न स्थानमा थप १५० वटा कुर्सी राख्ने तयारी महानगरले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − four =