स्कटल्यान्डविरुद्ध टस जितेर बलिङमा नेपाल, सुपर सिक्समा पुग्न जित्नैपर्ने दबाब

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको समूह चरणको अन्तिम तथा निर्णायक खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी स्कटल्यान्डको सामना गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुन लागेको यस खेलमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी हुन् ।
नेपालले आजको महत्त्वपूर्ण खेलका लागि आफ्नो अन्तिम ११ मा एक परिवर्तन गरेको छ । तीव्र गतिकी बलर सुमन विष्टको स्थानमा स्पिनर मनिषा उपाध्यायलाई टोलीमा समावेश गरिएको छ ।
नेपाललाई सुपर सिक्स (दोस्रो चरण) मा स्थान सुरक्षित गर्न आजको खेल जित्नैपर्ने दबाब छ । पहिलो खेलमा थाइल्यान्ड र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको नेपालले तेस्रो खेलमा जिम्बावेलाई हराउँदै झिनो आशा जीवितै राखेको थियो ।
तर, केवल जितले मात्र नेपालको यात्रा सुनिश्चित हुने छैन । आजको खेलमा नेपालले स्कटल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्नुपर्नेछ भने आजै हुने थाइल्यान्ड र नेदरल्यान्ड्सबीचको खेलको नतिजामा समेत निर्भर रहनुपर्नेछ । अर्थात्, नेपालको अन्तिम ६ को भाग्य आजको प्रदर्शन र अन्य टोलीको नतिजा दुवैमा अडिएको छ ।








