नेपाली कांग्रेसको ‘मधेस सभा’ स्थगित

काठमाडौं । निर्वाचन आचारसंहिताका कारण नेपाली कांग्रेसले जनकपुरमा आयोजना गर्न लागेको ‘मधेस सभा’ स्थगित गरेको छ । आगामी माघ १६ गतेका लागि तय गरिएको उक्त बृहत् सभा निर्वाचन आयोगको कानुनी प्रावधानका कारण रोकिएको हो ।
यसअघि तय गरिएको कार्यतालिका अनुसार नेता गगन थापासहितका शीर्ष नेताहरू माघ ११ गते मधेस झर्ने र माघ १६ गते जनकपुरमा शक्ति प्रदर्शनसहित मधेस सभा गर्ने तयारी थियो । तर, प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरिसकेकाले उक्त कार्यक्रम प्रभावित भएको हो ।
आयोगको नियम अनुसार उम्मेदवारहरूले फागुन ४ गतेभन्दा अगाडि कुनै पनि प्रकारको सभा, जुलुस वा औपचारिक प्रचारप्रसार गर्न पाउँदैनन् । प्रतिनिधि सभा निर्वाचनका लागि माघ ६ गते नै मनोनयन दर्ता भइसकेको र मनोनयनको अघिल्लो दिनदेखि नै आचारसंहिता लागू भइसकेकाले कांग्रेसले आफ्नो कार्यक्रम पछि सारेको हो ।
कांग्रेस नेता गगन थापा यतिबेला सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन् । उम्मेदवार आफैँ सहभागी हुने गरी गरिने ठूला सभाहरूले आचारसंहिता आकर्षित गर्ने भएपछि पार्टीले रणनीतिक रूपमा कार्यक्रमलाई परिमार्जन गर्न लागेको बुझिएको छ ।








