सन्दीप लोटोको ब्रान्ड एम्बेसडर नियुक्त, भतिजीको सम्झनामा परोपकारी कार्यको सुरुवात

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित लेग स्पिनर सन्दीप लामिछाने विश्वप्रसिद्ध खेलकुद ब्रान्ड ‘लोटो’को नेपालका लागि आधिकारिक ‘ब्रान्ड एम्बेसडर’ नियुक्त भएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सन्दीपले आफू ‘लोटो स्पोर्ट्स नेपाल’ सँग जोडिएको घोषणा गरेका हुन् ।

सन्दीपले आफ्नो नयाँ व्यावसायिक यात्राका लागि जनवरी २५ को दिन रोज्नु पछाडिकाे विशेष कारण रहेको खुलाएका छन् । यो मिति सन्दीपकी स्वर्गवासी भतिजीको जन्मदिन हो । उनले आफ्नो जर्सी नम्बर ‘२५’ को रहस्य पनि सोही मितिसँग जोडिएको बताएका छन् ।

आफ्नो फेसबुक स्टाटसमा सन्दीपले लेखेका छन्, ‘जनवरी २५ मेरो लागि केवल एउटा तारिख मात्र होइन, यो मेरो जर्सी नम्बरको आधार हो र मेरो अहिलेसम्मको हरेक सफलताको साक्षी पनि हो । यो मेरो भतिजीको जन्मदिन हो, जसले मलाई अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्नुभन्दा अगाडि नै छोडेर गइन् । उनैको माया र आशीर्वादले मलाई सधैँ अगाडि बढ्ने ऊर्जा दिइरहेको छ ।’

लोटो स्पोर्ट्ससँगको सम्झौता एक महिना अगाडि नै भए तापनि सन्दीपको विशेष आग्रहमा भतिजीको जन्मदिनको अवसर पारेर आइतबार मात्रै यसको औपचारिक घोषणा गरिएको हो । उनले यो नयाँ सुरुवात आफ्नी स्वर्गवासी भतिजीप्रति समर्पित गरेका छन् ।

नयाँ सहकार्यको खुसीयालीमा सन्दीपले मानवीय सेवामा पनि हात बढाएका छन् । लोटो स्पोर्ट्स नेपालसँगको आबद्धताबापत प्राप्त गर्ने सम्झौता रकममध्येबाट १ लाख रुपैयाँ असाहाय तथा खाँचोमा परेका व्यक्तिहरूको सहयोगार्थ एउटा फाउन्डेसनलाई प्रदान गर्ने उनले घोषणा गरेका छन् । ‘कृतज्ञताका साथ म यो घोषणा गर्न चाहन्छु कि मेरो सम्झौता रकमबाट १ लाख रुपैयाँ अभावमा रहेकाहरूलाई सहयोग गर्ने फाउन्डेसनलाई प्रदान गर्नेछु,’ उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =