प्रधानमन्त्रीका प्रत्याशीहरूसँग एउटै मञ्चमा बहस गर्न तयार छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनपछि प्रधानमन्त्रीका उम्मेदवारका रुपमा अघि सारेका अध्यक्ष केपी शर्मा ओलीले पब्लिक डिबेटको लागि तयार रहेको बताएका छन् । उनले आइतबार बिहान सामाजिक सञ्जालमार्फत आफू पब्लिक डिबेटको लागि तयार रहेको बताएका हुन् ।
नेपाली कांग्रेसले गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीकाका रुपमा अघि सारेर चुनावी अभियान थालेका छन् । फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनमा ओली र बालेनले झापा-५ र थापाले सर्लाही-४ बाट उम्मेदवारी दिएको छन् । सामाजिक सञ्जालमा प्रधानमन्त्रीका उम्मेदवारबीच सार्वजनिक बहस हुनुपर्ने आवाज उठिरहेका छन् ।
यिनै सन्दर्शमा अध्यक्ष ओलीले चुनावी प्रतिस्पर्धालाई देश बनाउने र देश जलाउने पक्षबीचको लडाइँको रूपमा चित्रण गरेका छन् । पछिल्लो समय बौद्धिक वृत्तबाट शीर्ष नेताहरूबीच पारदर्शी बहसको माग भइरहेको सन्दर्भलाई जोड्दै उनले आफू त्यसका लागि पूर्ण रूपमा तयार रहेको बताएका हुन् ।
ओलीले सामाजिक सञ्जालमा गरिने प्रायोजित प्रचार सामग्रीले नेताहरूको वास्तविक चरित्र लुकाउने काम गरिरहेको टिप्पणी गरेका छन् । ‘फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री देखाएर मतदातालाई भ्रममा पार्ने र आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएको छ,’ ओलीले लेखेका छन्, ‘यस्तो अवस्थामा पब्लिक डिबेटले मतदातालाई सत्य छुट्याउन मद्दत गर्छ ।’
अध्यक्ष ओलीले निर्वाचनमा होमिएका पुराना, ऐतिहासिक र भर्खरै अस्तित्वमा आएका नयाँ दलहरूले प्रधानमन्त्रीको उम्मेदवारसमेत तोकिसकेको अवस्थामा उनीहरूको योग्यता र योजनामाथि बहस हुनुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्, ‘देशको नेतृत्व गर्न खोज्ने दलहरूको एजेन्डा के हो ? देश निर्माणमा यसअघि के काम गरे र अब गर्ने कामको रोडम्याप के छ ? यस्ता प्रश्नहरूमा आमने-सामने उभिएर जवाफ दिन म तयार छु ।’
उनले निर्वाचनपछि प्रधानमन्त्री बन्ने आकांक्षा राखेका सबै उम्मेदवारहरूलाई एउटै मञ्चमा उभिएर जनताका सिधा प्रश्नहरूको सामना गर्न आग्रह गरेका छन् । विगतका उपलब्धि र भविष्यको स्पष्ट मार्गचित्रसहित आफू जुनसुकै सार्वजनिक मञ्चमा प्रस्तुत हुन प्रतिबद्ध रहेको उनको भनाइ छ ।








