पश्चिमी वायुको प्रभाव : कतै झरी, कतै हिउँको चेतावनी

काठमाडौं । हाल नेपालमा विकसित न्यून चापीय प्रणालीका कारण देशभरको मौसममा आंशिकदेखि सामान्य बदली देखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भू-भागमा बादल लाग्नुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज कोशी, मधेस र बागमती प्रदेशसहित पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ । बाँकी क्षेत्रमा भने मौसम सफा रहने देखिए पनि दिउँसो उच्च पहाडी र हिमाली भू-भागमा मौसम पूर्ण बदली हुने प्रक्षेपण गरिएको छ ।

विशेषगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपात हुने सम्भावना छ । यस्तै, तराईका पूर्वी र मध्य भागमा बिहानीपख लागेको हुस्सुले जनजीवन र यातायातमा केही प्रभाव पर्न सक्ने विभागको भनाइ छ । आज राति पनि कोशी र गण्डकी प्रदेशका केही उच्च स्थानमा हल्का हिमपातको सम्भावना कायमै रहनेछ ।

पछिल्लो दुई दिनदेखि सक्रिय पश्चिमी न्यून चापीय प्रणालीले शुक्रबार साँझदेखि सुदूरपश्चिम र कर्णालीका धेरै जिल्लाहरूमा वर्षा र हिमपात गराएको छ । विभागको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी २९ मिलिमिटर र डडेलधुरामा २८.८ मिलिमिटर मध्यम वर्षा मापन गरिएको छ ।

यसैगरी बैतडीमा २६, डोटीमा २०, कालीकोटमा १९.४ र दार्चुलामा १७.८ मिलिमिटर वर्षा रेकर्ड भएको छ । बागलुङ, म्याग्दी, रुकुमपूर्व, रोल्पा, दाङ र सुर्खेत लगायतका जिल्लाहरूमा पनि हल्का वर्षा र हिमपातले चिसो बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =