गणतन्त्रकै कारण युवाहरूमा असन्तोष: नेता लोहनी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले अहिलेको व्यवस्थाकै कारण नेपाली युवाहरूको मनमा आक्रोश पैदा भएको बताएका छन् ।
शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अहिलेको जेन–जी आन्दोलन वर्तमान शासन व्यवस्थाका कारण नै भएको बताए । गणतन्त्रले रोजगारी, आर्थिक विकास कति भयो भन्दै प्रश्न गरे । गणतन्त्र र संघीयताका कारण नेपालको साधारण खर्च चलाउन पनि नसक्ने स्थिति सिर्जना भएको बताए । उनले देशमा संवैधानिक राजसंस्था आवश्यक छ भन्ने एउटै पार्टी राप्रपा भएको बताए ।
उनले नेपालको पहिचान भनेकै वैदिक सत्य सनातन हिन्दु राष्ट्र रहेको र त्यसको मुद्दा राप्रपाले मात्रै बोकेर हिँडेको बताए । यसबारेमा नागरिकहरूलाई स्पष्टताका साथ भन्नसक्नुपर्ने बताए ।
उनले भने ‘हामी यो देशमा संविधानभित्रको राजसंस्था चाहिन्छ भन्ने दल हो । हामी यो देशमा देशको पहिचान वैदिक सनातन हिन्दु राष्ट्र हुनुपर्छ भन्ने दल हौँ । हामी यो संघीयता परिमार्जन गर्नुपर्छ भन्ने दल हौँ । त्यो कुरालाई बढो स्पष्टताका साथ भन्नसक्नुपर्छ । तिमीहरूको शासनमा जेन–जीको आन्दोलन भएको भन्नसक्नुपर्छ । यो संविधानमा जाँदा के गर्नुपर्दथ्यो । आर्थिक विकास कहाँ भयो, नयाँ रोजगारी, नयाँ उद्योगको विकास कहाँ भयो ? यो जनताको प्रश्न छ । तपाईँहरूको क्रियाकलापका कारण नेपालका युवाहरूको मनमा आक्रोश पैदा भएको छ । नेपालको साधारण खर्च चलाउन पनि नसक्ने स्थिति सिर्जना भइसकेको छ ।’
उनले नेपालको पहिचान सनतान धर्म रहेको बताए । उनले राष्ट्रको पहिचान कायम गर्न राप्रपालाई विजयी गराउनुको विकल्प नभएको बताए । देश खोक्रो भइसकेको र अबको विकल्पमा राप्रपा नै उदयीमान शक्ति भएको बताए ।








