निर्वाचनमा एमालेलाई विजयी गराउन लाग्नुस्, देशले जित्नेछ: ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचनमा एमालेलाई विजयी बनाउनका लागि साथ दिन सबैलाई आह्वान गरेका छन् ।
शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालेलाई निर्वाचनमा विजयी बनाउने काममा सक्रियतापूर्वक लागि दिन आग्रह गरेका हुन् ।
अध्यक्ष ओलीले देश र जनताको हितमा काम गर्नका लागि पनि आगामी निर्वाचनमा नेपाली जनताले एमालेलाई विजयी गराउनुपर्ने जिकिर गरे । उनले मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन पनि आगामी निर्वाचनमा एमाले विजयी हुनुपर्ने बताए ।
उनले भने ‘तपाईँहरू सबैलाई म आग्रह गर्न चाहन्छु–नेकपा एमालेलाई साथ दिनुहोस् । एमालेले तपाईँहरूलाई साथ दिनेछ । एमाले तपाईँहरूका लागि काम गर्छ । अरू कुनै उद्देश्य छैन । जनताका लागि काम गर्ने हो, देशका लागि काम गर्ने हो । आफ्ना लागि काम गर्ने होइन एमालेले । त्यसकारण मेरो आग्रह यही छ–तपाईँहरू सक्रियतापूर्वक एमालेलाई विजयी बनाउने काममा लाग्नुस् । देशले जित्नेछ, शान्तिले जित्नेछ । सुशासनले जित्नेछ, विकासले जित्नेछ’
अध्यक्ष ओलीले नेपाली समाजलाई सभ्य र सुसंस्कृतको बाटोमा फर्काउन पनि आगामी निर्वाचनपछि एमालेले सरकार बनाउनुपर्ने बताए ।








