प्रधानमन्त्रीका आकांक्षीबीच खुला बहसको प्रस्ताव- ‘एउटै मञ्चमा बसेर भिजन सुनाउनुस्’

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री उदयशम्शेर राणाले प्रमुख राजनीतिक दलका तर्फबाट प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवारहरूलाई एउटै मञ्चमा राखेर सार्वजनिक बहस गराउनुपर्ने प्रस्ताव अघि सारेका छन् । लोकतन्त्रलाई थप उत्तरदायी र पारदर्शी बनाउन नेतृत्व तहमा रहेका व्यक्तिहरूबीच नीतिगत बहस आवश्यक रहेको भन्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।

सहमहामन्त्री राणाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै निर्वाचनअघि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने अभ्यासको स्वागत गरे पनि उनीहरूको कार्यक्षमता र योजनाबारे नागरिकले प्रत्यक्ष रूपमा बुझ्न पाउनुपर्नेमा जोड दिएका छन् । ‘यसपटक अधिकांश दलले प्रधानमन्त्रीको उम्मेदवार अघि सारेका छन्,’ उनले लेखेका छन्, ‘हरेक सचेत नागरिकको जिज्ञासा छ- यी उम्मेदवारहरूलाई एउटै मञ्चमा राखेर उनीहरूको भावी कार्ययोजनाबारे सार्वजनिक बहस किन नगर्ने ?’

बहसले लोकतान्त्रिक पद्धतिलाई मजबुत बनाउने उल्लेख गर्दै उनले कुनै पनि नेता प्रश्न र संवादबाट भाग्न नहुने तर्क गरे । राणाले यस्तो वैचारिक मन्थनका लागि नेपाली कांग्रेस सदैव तयार रहेको समेत स्पष्ट पारेका छन् ।

राणाको प्रस्तावअनुसार यस्तो बहस केवल राजनीतिक आरोप-प्रत्यारोपमा सीमित नभई देशको समृद्धिका ठोस एजेन्डाहरूमा केन्द्रित हुनुपर्नेछ । ‘प्रधानमन्त्रीका उम्मेदवारहरूको देश निर्माणप्रतिको दृष्टिकोण, आर्थिक सुधारका योजना, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र सुशासनका सवालमा उनीहरूका ठोस कार्यक्रम के हुन् ? यो थाहा पाउनु आम जनताको अधिकार हो,’ उनले भनेका छन् ।

राणाले साझा बहसको अभ्यासले नागरिकलाई आफ्ना नेताहरूलाई नजिकबाट चिन्ने र उनीहरूको क्षमताको तुलनात्मक अध्ययन गर्ने अवसर दिने बताएका छन् । यसले मतदातालाई भावुकतामा भन्दा पनि विवेक र तर्कका आधारमा सही उम्मेदवार छनोट गर्न र आफ्नो मताधिकारको सदुपयोग गर्न सहज बनाउने उनको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 15 =