जब सानेपामा सभापति गगनले सम्झिए देउवा

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएको ९ दिनमा शुक्रबार गगन थापाले पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर पदभार ग्रहण गरे । राजनीतिको एउटा कठिन मोड र विशेष परिस्थितिबीच नेतृत्वमा आएका थापाले आफ्नो पदबहालीको पहिलो दिन नै निवर्तमान सभापति शेरबहादुर देउवाप्रति उच्च सम्मान प्रकट गर्दै पार्टीभित्र एकताको सन्देश दिने प्रयत्न गरेका छन् ।

विशेष महाधिवेशनको वैधानिकतालाई लिएर देउवा पक्ष अदालत पुगेको र सानेपामा उनको समूहको भौतिक उपस्थिति नदेखिए पनि नवनिर्वाचित सभापति थापाले भने आफ्नो सम्बोधनमा देउवालाई ‘श्रद्धेय नेता’ का रूपमा स्मरण गरे । पदबहालीपछि कार्यकर्तालाई सम्बोधन गर्दै थापाले आफू बसेको कुर्सीको गरिमा र इतिहासलाई देउवासँग जोडेर चर्चा गरे । ‘यो कुर्सी बीपी कोइराला, सुवर्णशम्शेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला बस्नुभएको कुर्सी हो,’ थापाले भावुक हुँदै भने, ‘र, यो श्रद्धेय नेता शेरबहादुर देउवा बस्नुभएको कुर्सी हो । यो कुर्सीमा बस्न जति सहज छ, जिम्मेवारी निर्वाह गर्ने कुरा उत्तिकै चुनौतीपूर्ण छ भन्ने मैले बुझेको छु ।’

आफ्नो कार्यकक्षमा पूर्वसभापतिहरूको लहरमा देउवाको फोटोलाई यथास्थानमा राखेर थापाले कार्यभार सम्हालेका हुन् । उनले निवर्तमान सभापति देउवालगायत सबै अग्रज नेताहरूप्रति आफ्नो पूर्ण सम्मान रहेको भन्दै पार्टीको आन्तरिक लोकतन्त्रमा सबैको अस्तित्व स्वीकार्य हुने संकेत गरे । थापाले पदबहाली गर्दा निवर्तमान सभापति देउवा र उनी पक्षका अधिकांश नेताहरू सानेपामा उपस्थित थिएनन् । सर्वोच्च अदालतमा विशेष महाधिवेशनविरुद्धको मुद्दा विचाराधीन रहेकै बेला थापाले विधिवत् रूपमा कार्यालय प्रवेश गरेका हुन् ।

देउवा पक्षका तरुणहरूले कार्यालय कुर्न छोडेपछि सहज वातावरणमा सानेपा छिरेका थापाले भने आफूलाई सबै पक्षका नेता र कार्यकर्ताको साथ चाहिने अपेक्षा राखे । उनले भने, ‘हामी नियमित बाटोबाट यहाँ आइपुगेका होइनौं, तर माटो र नागरिकले आह्वान गर्दा कांग्रेस बदल्न यो कदम चालेका हौं । यस यात्रामा हाम्रा अग्रजहरूको अनुभव र मार्गदर्शन सधैं आवश्यक रहन्छ ।’

थापाको पदबहाली लगतै बसेको केन्द्रीय समितिको बैठकले उनलाई ऐतिहासिक निर्णयका साथ भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अनुमोदन गरेको छ । उपसभापति विश्वप्रकाश शर्माको प्रस्तावमा सिंगो केन्द्रीय समितिले थापालाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 6 =