एस्पायर कलेजको अन्तर्राष्ट्रिय एडटेक बुटक्याम्प तथा ह्याकाथन सम्पन्न

काठमाडौं । विराटनगरस्थित काठमाडौँ विश्वविद्यालयसँग आबद्ध एस्पायर कलेजले शिवम् अर्गनाइजेसनको आर्थिक सहयोग तथा दक्षिण कोरियाको अग्रणी एडटेक कम्पनी छन्जे एजुकेशनको प्राविधिक सहकार्यमा सञ्चालन गरेको छ हप्ते अन्तर्राष्ट्रिय एडटेक बुटक्याम्प तथा दुईदिने ह्याकाथन सफलतापूर्वक सम्पन्न भएको छ ।

विराटनगरस्थित होटल स्वागतममा आयोजित औपचारिक समापन समारोहमा उत्कृष्ट आइडिया पिचिङ गर्दै प्रथम स्थान हासिल गर्ने प्रनिशा पौडेल, ग्रेशा बोगटी र सरिता मगरको टिमलाई प्रोत्साहनस्वरूप ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको कलेजले जनाएको छ ।

त्यसैगरी, द्वितीय स्थान हासिल गर्ने विनम पौडेल, दीक्षा राई र निकेश राजवंशीको टिमलाई ३० हजार रुपैयाँ तथा तृतीय स्थान प्राप्त गर्ने सुशान्त नेपाल, कुशल कुवर र आयुष मेहताको टिमलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा पुरुषतर्फ अनिश श्रेष्ठ र महिलातर्फ उत्कृष्ट ‘राइजिङ स्टार’को सम्मान प्रदान गरिएको छ । बुटक्याम्प तथा ह्याकाथनमा सहभागी ३६ जना विद्यार्थीलाई प्रमाणपत्र तथा सम्मानसमेत प्रदान गरिएको थियो ।

कलेजकी शैक्षिक संयोजक प्रितिका बस्नेतका अनुसार छ हप्ते बुटक्याम्प अवधिमा विद्यार्थीहरूले कोडिङ वर्कफ्लो, इन्टरेक्टिभ लर्निङ सिस्टम, डिजाइन तथा डिजिटल कन्टेन्ट विकासमा प्रत्यक्ष व्यावहारिक अनुभव हासिल गरेका थिए ।

दुईदिने ह्याकाथनमा १२ टोलीले आफ्ना परियोजना प्रस्तुत गरेका थिए, जसको मूल्याङ्कन समस्या पहिचान, प्रविधिक कार्यान्वयन, प्रयोगकर्ता अनुभव, नवप्रवर्तन, टोली समन्वय तथा भविष्यमा विस्तार गर्न सकिने सम्भावनाका आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले गरेका थिए ।

समापन समारोहमा बोल्दै छन्जे एजुकेशनका प्रमुख डा. किमले यस्ता कार्यक्रमले विद्यार्थीलाई अन्तर्राष्ट्रिय एडटेक अभ्याससँग जोड्दै आत्मविश्वास र सीप विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए। उनले भविष्यमा अन्तर्राष्ट्रिय इन्टर्नसिप तथा रोजगारीका अवसरमा समेत सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

क्याम्पसका अध्यक्ष विकास अधिकारीले आगामी दिनमा यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमलाई निरन्तरता दिँदै थप चरणको बुटक्याम्प, प्रत्यक्ष परियोजना सहभागिता तथा दीर्घकालीन शैक्षिक सहकार्य विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

कार्यक्रमको उद्देश्य विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको एडटेक अभ्याससँग जोड्दै डिजिटल शिक्षण सामग्री विकासमा व्यावहारिक सीप प्रदान गर्नु तथा प्रविधिमा आधारित समाधान निर्माणतर्फ उत्प्रेरित गर्नु रहेको कलेजका एकेडेमिक डाइरेक्टर प्रतिक राउतले बताए ।

कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि तथा प्रतिस्पर्धी विद्यार्थीलाई धन्यवाद ज्ञापन गर्दै क्याम्पस प्रमुख सी.एम. बस्नेतले डिजिटल संसारसँग जोडिएर परिवर्तनको संवाहक बन्ने दिशामा यो कार्यक्रम महत्वपूर्ण सुरुवात भएको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + six =