आगामी निर्वाचनमा केन्द्रीय संसदीय बोर्डले उम्मेदवार छान्दैन: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनबाट केन्द्रिय संसदीय बोर्डले उम्मेद्वार चयन नगर्ने बताएका छन् ।
पार्टी कार्यलय सानेपामा सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा सम्बन्धित निर्वाचन क्षेत्रमा नै उम्मेद्वार चयन हुने बताएका हुन् । उनले सोही क्षेत्रका पार्टी कार्यकर्ता र आम मतदाताले प्राईमरी इलेक्सनबाट उम्म्ेदवार छान्ने दाबी गरे । ‘हामी १६५ निर्वाचन क्षेत्रमा नै त्यही क्षेत्रभित्रको उम्मेद्वारी चयन गर्ने प्रक्रियाँ टुगिनुपर्छ भन्ने मत राख्छौँ । यसका निम्ति हामीले अहिले विधानमा संशोधन पनि गरेका छौँ । अर्को पटकदेखी काँग्रेसको उम्मेद्वार यसरी चयन हुँदैन । उम्मेद्वार त्यहीका पार्टी सदस्य, आम नागरिकले मतदान गरेर तलै चयन हुन्छ’ उनले भने ।
यसपटक भने समयको अभावको कारण प्राईमरी इलेक्सनमार्फत उम्मेद्वार छान्न नसकिएको उनको भनाई छ । उनले समयको चापको कारण उम्मेद्वारी चयन प्रक्रियालाई अझै समावेशी र सन्तुलन बनाउन नसकिएको बताए । ‘यो पटक हामीसंग त्यो समयको सुविधा थिएन । हामीले ४ गते जम्मा यो कामको थालनी गरेका हौँ, ६ गते उम्मेद्वारी दर्ताको समय थियो । अब हामी फर्केर प्राईमरि गर्छौ भन्ने अवस्था थिएन । समयको चापमा काम गर्दैगर्दा कतिपय ठाउँहरुमा हामीले चाहेको भन्दा हामीले फरक ढंगले निर्णय गर्नसक्थ्यौँ भन्ने लाग्दालाग्दै पनि सकेनौँ । हामीसंग समय भएको भए यो भन्दा समावेशी बनाउन सक्थ्यौ’ उनले भने ।
उनले विशेष महाधिवेशन आफूहरुले आफ्नो लागि नभई नागरिकको काँग्रेस बदलिनैपर्छ भन्ने आवाज र पुकारलाई सम्मान गरेर गरिएको बताए ।










