सुनको मूल्यमा ऐतिहासिक कीर्तिमान, पहिलोपटक प्रतितोला ३ लाख नाघ्यो

काठमाडौं । नेपाली सुनचाँदी बजारमा शुक्रबार ऐतिहासिक कीर्तिमान कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको तीव्र उछालसँगै घरेलु बजारमा पनि सुनको भाउले पहिलोपटक ३ लाखको पार गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ । यो नेपाली सुन बजारको इतिहासमै अहिलेसम्मकै उच्च विन्दु हो ।

बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एकैदिन ९ हजार २ सय रुपैयाँले बढेको छ । यसअघि बिहीबार २ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज असामान्य वृद्धि देखिएको हो ।

विश्व राजनीतिक र आर्थिक परिदृश्यमा देखिएको उथलपुथलका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको माग र मूल्य दुवै आकाशिएको छ । महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार ९ सय ५० अमेरिकी डलरभन्दा माथि पुगेको छ ।

सुनसँगै चाँदीको मूल्यमा पनि ठूलो वृद्धि भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला ६ हजार १९० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ३ सय २० रुपैयाँ बढी हो । बिहीबार चाँदी प्रतितोला ५ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 10 =